arrow

सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिन सकेन : महामन्त्री कोइराला

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
koirala-chitwan.jpg

चितवन। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताए। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए। उनले भने, “सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन्।”

एक-दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उनले बताए। महामन्त्री कोइरालाले कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताए। उनले भने, “सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ। कांग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ।”

समृद्ध राष्ट्र बनाउने अभियानमा कांग्रेस पहिलेदेखि नै लागिरहेको भन्दै उनले सरकारका समृद्धिका योजनामा आफ्नो पार्टीको सहयोग रहँदैआएको बताए। फरक प्रसङ्गमा उनले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताए। पार्टीभित्र केही मतभेद रहेपनि त्यसको उचित व्यवस्थापन गरी एकढिक्का भएर जाने उनको भनाइ छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ