arrow

निर्मला पन्त हत्याकाण्डमा जिम्मेवारी पूरा गर्न नसकेका थप पाँच प्रहरी निलम्बित 

अन्य व्यक्ति पनि छानबिनको दायरामा

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
nilambit_thapiye.jpg

काठमाडौँ । गृहमन्त्रालयले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका पाँच प्रहरीलाई निलम्बन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल समक्ष पेश गरिएको छानविन समितिको सिफारिस अनुसार उनीहरुलाई निलम्बन गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ । 

प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई शनिबारकै मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको थियो ।

हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले शनिबार गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो । 

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडि बढाउन निर्देशन भएको बताए । 

पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइएको छ । मन्त्रालयले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ