७ वर्षपछि पहिलो पटक सिरियामा स्थानीय तहको निर्वाचन
प्रकाशित २०७५ भदौ ३१ आइतबार
394
Shares
दमास्कस। सिरिया सरकारको नियन्त्रण रहेका ठाउँमा आइतबार स्थानीय तहको निर्वाचन भएको छ। द्वन्द्वग्रस्त मुलुक सिरियामा सन् २०११ पछि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको अधिकारीहरुले जनाएका छन्। निर्वाचनका लागि मतदानस्थलमा बिहानैदेखि मतदाताको भिड लागेको राज्यद्वारा सञ्चालित साना समाचार संस्थाले जनाएको छ।
स्थानीय समयअनुसार विहान ७ बजेदेखि सुरु भएको मतदान १२ घण्टासम्म चल्नेछ। अहिले निर्वाचन भएका ठाउँहरुमा १८ हजार ४७८ जना जनप्रतिनिधि छानिने छन्। त्यसका लागि झण्डै ४० हजार उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
मुलुकका झण्डै दुई तिहाइ क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरुको नियन्त्रण रहेको छ। पछिल्ला केही समय दमास्कससहित देशका दक्षिणी क्षेत्रमा शृङ्खलाबद्ध रुपमा सरकारी सुरक्षाकर्मीहरुलाई सफलता प्राप्त भइरहेको छ। सिरियामा यसअघि सन् २०११ को डिसेम्बरमा स्थानीय तहको निर्वाचन भएको थियो। एएफपी