arrow

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री नै दोषी : कर्ण 

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
Laxman-Lal-Karna.JPG

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन्। 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले प्रारम्भिक अनुशन्धानमै प्रहरीले हेलचेक्रयाँई गरेको थाहा हुँदाहुँदैपनि कारबाही नगर्नु प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गरे। उनले भने,‘अहिलेसम्म घट्नाको दोषी पत्ता लगाउन नसक्नु सत्ता सञ्चालकहरुको विफलता हो।

अनुशन्धान गर्ने निकाय नै दोषी हो। त्यो निकायले अनुशन्धान किन राम्रोसँग गरेन ?’साक्षात्कारमा बोल्दै कर्णले गृहमन्त्रीले संसदमा दिएको जवाफ आश्चर्यजनक भएको पनि जिकिर गरे। उनले भने,‘गृहमन्त्रीले संसदमा दिएको जवाफ चित्तबुझ्दो छैन। उनले अहिलेसम्म अनुशन्धान अधिकृतलाई लिखित उजुरी परेको छैन भनेर जवाफ दिए। अनुशन्धान अधिकृतलाई धम्की दिँदा गृहमन्त्रीलाई धम्की दिनेको बारेमा थाहा हुँदैन भने के को गृह प्रशासन ? के को गृह मन्त्री ? के को सरकार ?’

निर्मलाको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न वास्तविक दोषीलाई सरकारले चाँडो भन्दा चाँडो सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्ने उनको माग छ। उनले भने,‘न्याय माग्नपनि पीडितले प्रधानमन्त्री र गृहमन्त्रीकहाँ धाउनुपने ? यो कस्तो राज्य हो ?’

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्ने बताएका छन् । उनले भने,‘घट्ना भएको आज ५२ दिन भैसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन् । प्रहरीको अनुशन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ । त्यसैले प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्छ।’

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले नै अनुशन्धानमा प्रहरीबाट कमजोरी भएको स्वीकार गरिससकेपछि अनुशन्धान प्रक्रियामा सुधार गर्नुपर्ने भएपनि त्यसो नगरिएको उनको गुनासो छ । उनले भने,‘यस्ता किसिमका घट्नाको अनुशन्धान गर्न नेपाल प्रहरीले दक्ष, स्रोधसाधनयुक्त र निर्भिक प्रहरी युनिट गठन गर्नुपर्छ । टा«फिक, र शान्तिसुरक्षा लगायतका सबै कुरा एउटै प्रहरीबाट सम्भव हुँदैन् । यसको लागि छुट्टै युनिट गठन गर्नुपर्छ।’

उनले निर्मला पन्तको हत्या घट्नाबारे डिएनए टेष्ट गर्न छुट्टै फोरेन्सिक विज्ञ चिकित्सकहरु बाहिरबाट झिकाउनुपर्ने माग गरे । उनले भने,‘छानबिनको लागि डिआईजीभन्दा माथिल्लो नेतृत्वको प्रहरी अधिकारी सम्मिलित अनुशन्धानमा विशिष्ट विज्ञ समिति बनाउनुपर्छ। ’

पछिल्लो समय मुलुकमा बलात्कारलगायत मानव अधिकार विरुद्धका घट्नाहरु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थामा प्रहरी कहाँ छ? र सरकार कहाँ छ भन्दै प्रश्न गरे। उनले भने,‘एउटा घट्नाको पीडित कञ्चनपुरबाट न्याय माग्न काठमाडौं आउनुपर्ने ? प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुपर्ने ? त्यसमापनि समय नदिने ? मानव अधिकार, कानुनी शासन र न्याय भन्ने कुरा यही हो ?’

निर्मलाको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुले निरन्तर अनुशन्धान गरिरहेको टोली र सरकारले गठन गरेको समितिको अनुशन्धान प्रक्रियामाथिपनि निगरानी गरिरहेको पाठकको भनाई छ । उनले भने,‘यसको लागि हामीले गृहमन्त्री र प्रहरी महानिरिक्षकसँग आयोगमै बोलाएर छलफल गर्ने तयारी गरेका छौं । सम्भवतः भोलि उहाँहरुसँग छलफल हुन्छ।’

सत्तारुढ दल नेकपाका सांसद डा. दिपक प्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताए । उनले आफूले यस घट्नाबारे प्रधानमन्त्रीलाई गलत ‘बिफ्रिङ’ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारे । 

भट्टले अघि भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घट्नाको बारेमा राज्य गम्भिर बन्नुपर्छ । सरकारले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । घट्नाको बारेमा अहिले जे जस्ता कुराहरु आईरहेका छन्, यसबारेमा पनि छानबिन हुनुपर्छ ।’ उक्त क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले निर्मलाको न्यायको लागि निरन्तर आवाज उठाईरहेको पनि उनले स्पष्ट पारे । 

घट्ना भएको यतिका दिन बित्दापनि अहिलेसम्म वास्तविक दोषी पत्ता लगाउन नसक्नु दुःखद् भएको बताउँदै उनले अनुशन्धानमा लापरवाही भएको गुनासो पोखे । उनले भने,‘अनुशन्धानमा प्रहरीको भूमिका गैरजिम्मेवारीपूर्ण देखियो । अहिले नेपाल प्रहरीको मनोबल गिरेको छ ।’ भट्टले अपराधीलाई कुनैपनि हालतमा बचाउन नहुने धारणा राखे । 

उनले आफू निर्मलाको आमा–बुवालाई न्यायको निम्ति जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको विश्वास दिलाए। मानवअधिकारकर्मी तुलसी थापाले निर्मला पन्त नाबालिकाको बलात्कारपछि हत्याजस्तो अमानवीय, निर्मम र हृदयविदारक घट्ना हुँदापनि राज्यले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न गम्भिरता नदेखाएको गुनासो पोखे।

उनले भने,‘निर्मला हत्या प्रकरण जघन्य अपराध हो। यो घट्नामा आलोचना र निन्दा गरेरमात्रै पुग्दैन् । घट्नाको अनुशन्धान गर्ने जिल्लाको प्रहरी नेतृत्वको अनुशन्धान प्रक्रिया नै लापरवाही देखियो। उनले आफ्नो कानुनी दायराभित्र रहेर दोषी पत्ता लगाउने कर्तव्य पूरा गरेनन्।’

घट्नाको जिम्मा लिनको लागि प्रहरीले विभिन्न निर्दोष व्यक्तिहरुलाई समातेर चरम यातना दिएकोपनि उनले आरोप लगाए। उनले भने,‘म घट्नास्थलमै पुगेर आएको छु। हेमन्ती भट्ट, चक्र बडु र दिलिपंसिह विष्टलाई प्रहरीले यातना दियो। जबरजस्ती घट्नाको दोषी बनाउन खोजेको पाईयो।’

घट्ना भएको यतिका दिन वितिसक्दापनि वास्तविक अपराधीलाई सार्वजनिक गर्न नसक्नु राज्यको गम्भिर कमिजोरी रहेको उनको आरोप छ। उनले भने,‘जुनसुकै तह, तप्का र संगठनको व्यक्ति भएपनि दोषीलाई कानुनी कारबाही गर्नुपर्छ। राज्यले संरक्षण गर्ने काम गर्नुहुँदैन्।’

कार्यक्रममा अधिकारकर्मी माया मेगीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर यातना दिएकोले उनीहरुको मानव अधिकार हनन भएको आरोप लगाएकी छिन्। उनले भनिन्,‘आज हामी निर्मलाको लागि न्याय माग्न काठमाडौं आएको पनि हप्ता दिन वित्न लाग्यो। तर, सरकारले अहिलेसम्म हामीलाई न्याय दिनेगरि कुनै पहल गरेको छैन्। सरकारले निर्मलाको हत्यामा संलग्न दोषीलाई सार्वजनिक गर्नुपर्छ।’

सरकारले घट्नाको वास्तविक दोषी सार्वजनिक नगरेर के यो भन्दा ठूलो मानवीय क्षति हेर्न चाहेको हो त भन्दै प्रश्न समेत गरिन्। उनले भनिन्,‘आज निर्मलाको बलात्कारपछि हत्या भएको यतिका दिन वितिसक्यो। तर, अहिलेसम्म न्याय पाईएन्। यो धर्तीमा नारी जन्मिनु नै अपराध हो र ?’

त्यस्तै अर्की अधिकारकर्मी मीना भण्डारीले निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो भनेर स्वयम् निलम्बित एसपी डील्लीराज विष्टले आफूहरुसँग पटक–पटक सार्वजनिक रुपमै बोलेको बताउँदै अहिले आएर एकल बलात्कार भनेर घट्नाको अनुशन्धान गर्नु नै आपत्तिजनक रहेको बताईन्। 

उनले भनिन्,‘घट्नास्थलमा निर्मलाको शब हेर्दा रिसले आगो नहुने कोही पनि थिएनन्।  किनकी नानीको अंगभंग भएको थियो। अहिले पनि हामीसँग त्यो दृश्यले गर्दा आक्रोश छ। निर्मलाको ग्यांग रेप भएको छ भनेर स्वयम् एसपीले भनेका थिए। अहिले फेरी सिंगल रेप भनिएको छ। यो कुरा सरकारले भन्यो या प्रहरी कसले भन्यो ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ