काठमाडौं । बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् । यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट बिक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।
यातायात ब्यवसायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए ।
तर छलफलका क्रममा विभागले माग सम्बोधन गरिदिने भएपछि अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार सोमबारदेखि टिकट काउन्टर कहाँ राख्ने भनेर टुंगो लाग्नेछ ।
माग सम्बोधन नभइ बुकिङ खुल्ला ? व्यवसायीको आत्मसमर्पण कि बढ्याईँ ?
यातायात व्यवसायीहरुले आफूहरुका माग पूरा नभएसम्म दशैं बुकिङ खुला नगर्ने जनाएका थिए । तर महासचिव सिटौलाका अनुसार २५ हजार आफ्ना कर्मचारीहरुको सम्पूर्ण जिम्मा लिई अन्य सबै विषयको जिम्मा लगाएर बुकिङ खुला गरिएको हो ।
सरकारले यातायातको सिन्डिकेट हटाएको घोषणा गरेसंगै विभिन्न समितिहरु तहसनहस भएका थिए । २५ हजारको संख्यामा रहेका कर्मचारीले ६ महिनादेखि तलव खान सकेका छैनन् ।
सरकारले समितिहरुको खाता रोक्का गरेपछि उनीहरु बेरोजगार छन् । त्यसैगरी घाइतेहरुले पाउने राहत पनि पाउन सकेका छैनन् । कतिपय पीडितहरु अहिले पनि अस्पतालमै छन् ।
११ पटक पेट्रोलियम पदार्थको भाउ बढ्दासमेत भाडादर समायोजन नभएको गुनासो यातायात व्यवसायीहरुको छ । सवारी साधनको कर १०० % सम्म बढाउँदा पनि सरकारले चासो नदिएको गुनासो व्यवसायीहरुको छ ।
नयाँ गाडी आउँदैनन्
काठमाडौं उपत्यकाबाट झण्डै २० लाख यात्रु दशैंका लागि बाहिर जानेछन् । महासचिव सिटौलाका अनुसार व्यवसायीहरुले नयाँ गाडी दशैंका लागि प्रयोग गर्ने छैनन् ।
तर सरकारी स्रोतका अनुसार उपत्यकाका विभिन्न विद्यालयका सवारीहरु दशैंका लागि प्रयोग हुनेछन् ।
त्यसैगरी सिन्डिकेट खारेज भएपछि आएका नयाँ यातायातले सेवा दिने पनि बुझिएको छ ।
यातायात व्यवसायीले यसअघि सोमबार विश्वकर्मा पूजा गरेपछि यातायात विभागलाई गाडीको चाबी बुझाउने जनाएका थिए ।
तर महासंघले सरकारले सबै कुराको जिम्मा लगाएर आत्म समर्पण त गरेको हैन भन्ने प्रश्न समेत उब्जिएको छ ।
केही व्यवसायीले महासंघले बठ्याइँ गरेको समेत जनाएका छन् ।