हिमाली भेगको दुर्लभ खनिज पदार्थ कौडीको भाउमा चीनियाँ कम्पनीलाई सुम्पदै मातृका यादव
मन्त्री यादवले आथिक प्रभावमा परेर निर्णय गराएको आरोप
प्रकाशित २०७५ असोज २ मंगलबार
628
Shares
काठमाडौं। नेपालको उच्च हिमाली स्थानमा पाइने अति दुर्लभ खनिज पदार्थ नेकपा नेतृत्वको सरकारले एक चीनियाँ कम्पनीलाई कौडीको भाउमा सुम्पने तयारी गरेको छ।
देशको दुर्लभ खनिज पदार्थको उपयोग हुने भएपनि कौडीको भाउमा एक चीनियाँ कम्पनीलाई सुम्पेर सरकारका उद्योगमन्त्री मातृका प्रसाद यादवले आफूलाई नाफा तर देशलाई घाटा लगाउने तयारी गरेका छन्।
सोलुखुम्बु र धादिङको गणेश हिमालको आसपासमा पाइने दुर्लभ खनिज पदार्थ चीनियाँ कम्पनीलाई गोप्य रुपमा दिन मन्त्री यादवले ठूलै आर्थिक प्रभावमा परेको चर्चा शुरु भएको छ।
दीर्घकालिन प्रभाव राख्ने र देशको सम्पतीको रुपमा रहेको खनिज पर्दार्थको उत्खनन, उत्पादन र निकासीका लागि सरकारले ग्लोबल टेन्डर लगायतका अन्य कानुनी प्रक्रिया पुर्याउनु पर्नेमा त्यसो नगरि मन्त्री यादवले डोङ शान नाम गरेको चीनियाँ कम्पनीलाई विभिन्न प्रलोभन र प्रभावमा परेर दिन लागेको मन्त्रालयकै अधिकारीहरुले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्।
खनिज पदार्थको व्यापार गर्न भनेर नेपाल छिरेको चिनियाँ कम्पनी डोङ शानलाई मन्त्री यादवको ठाडो निर्देशनमा कम्पनी रजिस्टारको कार्यालयले खनिज उत्खनन तथा त्यस सम्बन्धि कार्य गर्न पाउने गरि कम्पनीको विधान संशोधन गरिदिएको छ ।
दुर्लभ मानिने खनिज चीन भित्र्याउन चीनको डोङ शान मिनरल्स नामक कम्पनीले कम्पनीको नियमावली तथा प्रबन्धपत्र समेत मिलेमतोमा संशोधन गरेको पाइएको छ।
सोलुखुम्बु क्षेत्र र धादिङको गणेश हिमालमा पाइने खनिज पदार्थ विश्वका अन्य मुलुकमा पाइदैन। डोङ शानको आँखा जाजरकोटतिर पाइने औषधी बनाउन मिल्ने तथा औंठीहरुमा प्रयोग गरिने पत्थर तथा खनिजमा पनि परेको उद्योग मन्त्रालयका अधिकारीले बताएका छन्। सोलुखुम्बु र रसुवाको गणेश हिमाल आसपासबाट उत्खनन् गर्ने भनिएको खनिज विलासी सामानहरुमा प्रयोग हुने खालको रहेको बताइएको छ। जस्को मुल्य कम्पनीको ब्राण्ड र उसले तोकेको आधारमा मात्र हुन्छ। यस्ता प्रकारका खनिजको मूल्य यति नै भनेर तोक्न कठिन हुन्छ।
नेपालको सगरमाथाको ढुङ्गा प्रयोग गरिएको स्वीस घडी मूल्य ७ देखि २० लाख रुपैयाँसम्ममा बिक्रि हुँदै आएका छन्। ती घडीमा प्रयोग भएको सगरमाथाको ढुङगालाई कम्पनीले ब्राण्डीङका क्रममा मार्केटीङ गर्दै आएको छ। सामान्य मानिएको ढुङगाको यसरी मार्केटीङ हुँदै आएकोमा अन्य खनिजहरुको मूल्य सहजै अनुमान लगाउन सकिन्छ। तर त्यसको फाइदा देशले कम र सरकारका मन्त्रीले बढी लिने गरि भइरहेको चलखेलले मन्त्रालयका अधिकारीहरु पनि रुष्ट छन् । तर आफू विरोधमा उत्रिदा यादवको रीसको शिकार भइएला भन्ने कारणले अघी सर्न सकेका छैनन।
मन्त्री यादव कर्मचारीलाई ट्वाइलेटमा थुन्ने, दुर्व्यवहार गर्ने, हातपातमै उत्रनेसम्म भएका कारण मन्त्रालयका अधिकारीहरुले यो बारेमा उनको अगाडी केहि भन्न सकेका छैनन।