arrow

अमेरिका–चीन व्यापारयुद्ध : दुई शक्तिराष्ट्रको टकराव

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
china-us1.jpg

एजेन्सी। अमेरिकाको चीनबाट आउने सामग्रीहरुमाथि तेस्रो चरणको कर लगाउने निर्णय लागू भएको छ। यससँगै अमेरिकाले चीनबाट आउने २ खर्ब डलरबराबरको सामग्रीहरुमा कर लाग्ने भएको हो। यसको अर्थ चीनबाट अमेरिका निर्यात हुने ४० प्रतिशत सामग्रीहरुमा कर लाग्ने भएको छ। 

अमेरिकाको अहिलेको सूचीमा आधाजसो सामग्रीहरु उपभोग्य सामग्रीका उत्पादनहरु रहेका छन्। जसमा सुटकेस, ह्याण्डब्यागलगायतका सामग्रीहरु रहेका छन्। यसले विश्वव्यापीरुपमा एक किसिमको तरङ्ग पैदा गरेको छ। 

चीनले अमेरिकाको अगाडि आत्मसमर्पण नगर्ने बताइसकेको छ। दुवै पक्षको बीचमा लगाताररुपमा विभिन्न चरणको वार्ता पनि जारी रहेको छ तर उनीहरुको वार्ताबाट कुनै निष्कर्ष निस्किने सम्भावना भने निकै कमजोर रहेको छ। चिनियाँ पक्षले यो सम्झौताको निकै नजिक रहेको बताएसँगै ट्रम्पले चीनमाथि प्रहार गर्दै आएका छन्। यो चीनलाई झुक्न बाध्य पार्ने उनको रणनीति हो। यद्यपि यो निकै ठुलो खेल हो। अहिले अमेरिका चीनभन्दा धेरै सामग्रीहरु बिक्री गर्न नसकेपनि चीनसँग नोक्सानी नसहने पक्षमा रहेको छ। 

एकैनासको सम्बन्ध 

अहिले लगाइएको करको प्रभाव अमेरिकी उपभोक्ताहरुमा प्रत्यक्षरुपमा पर्नेछ। अमेरिकामा उपभोग्य सामग्रीहरु महँगा हुनेछन्। जसको कारण चिनियाँ निर्यातकर्ताहरुले मागमा गिरावट आएको महसुस गर्नेछन्। जसले दुवै मुलुकको आर्थिक वृद्धिदर कमजोर बन्नसक्ने देखिन्छ। व्यापारिक हिसाबमा हेर्ने हो भने अमेरिका र चीनको बीचमा निकै गहिरो सम्बन्ध रहेको छ। दुवै मुलुकले चाहेर पनि एकअर्कालाई अस्वीकार गर्न सक्दैनन्। अहिलेको समस्या दुई मुलुकहरु एकअर्काको भावनालाई बुझ्न सकिरहेका छैनन्। उनीहरुको बीचमा देखिएको समन्वयको अभावकै कारण दुवै मुलुकहरुले यो समस्या सल्टाउन नसकेका हुन्। 

के चीन अपारदर्शी खेलाडी हो ? 

ट्रम्पले सधैं चीनलाई अमेरिकी प्रविधि, रोजगारीको चोरी गरेको र अमेरिकासँग खराब खेल खेलेको अरोप लगाउँदै आएका छन्। अमेरिकी कम्पनीहरुलाई आफ्नो बजारमा निषेध गरेर चीनले यस किसिमको खेल खेलेको उनको आरोप छ। अमेरिकाको बेइजिङमा रहेको चेम्बर अफ कमर्सका अध्यक्ष पनि चीन पूर्णरुपमा अर्थतन्त्रको मामिलामा पारदर्शी हुन नसकेको बताउँछन्। उनका अनुसार आधिकारिक रुपमा चीनको अर्थतन्त्र खुला छ तर अझै पनि त्यहाँ धेरै बाधा तथा अवरोधहरु रहेका छन्। चीनको बजारमा यो समस्या पछिल्लो ३० वर्षदेखिको समस्या हो। 

अहिले अमेरिकाले लगाएको करले चीन र अमेरिकाको बीचको व्यापारमा ठुलो असर पार्नसक्ने पनि विश्लेषकहरु बताउँछन्। त्यसो त यसअघिको निर्णयले नै दुई मुलुकहरुको बीचमा केही समस्या देखिइसकेको छ। 

चीनबारे गलत बुझाइ

चीनको विषयमा केही बुझाइहरु भने गलत पनि रहेका छन्। चीनबारे गलत बुझाइ रहेको कारण पनि दुई मुलुकहरु व्यापारिक द्वन्द्वमा धकेलिएका हुन् । अहिले अमेरिकामा १० लाखभन्दा बढी चिनियाँ विद्यार्थीहरु अध्ययन गरिरहेका छन् भने चीनमा १५ हजारको हाराहारीमा अमेरिकी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । चिनियाँ अधिकारी वाङ हुयाङका अनुसार यस किसिमको मानिसहरुको बीचमा देखिएको मानिसदेखि मानिससम्मको सञ्जालको भिन्नताको कारण पनि दुई मुलुकहरुको बीचको सम्बन्धमा केही समस्या आएको हो । जसको कारण पश्चिमा मुलुकहरुले चीनको अर्थतन्त्रलाई राम्रोसँग वर्णन गर्न सकेनन्। 

वाङ अमेरिकी कम्पनीहरुले चीनबाट फाइदा लिइरहेको बताउँछन् । पछिल्लो ४० वर्षमा उल्लेख्य मात्रामा अमेरिकी कम्पनीहरुले चीनबाट लाभ लिइरहेको बताउँछन्। उनी भन्छन्, “अमेरिकाका धेरैजसो प्रमुख कम्पनीहरु चीनमा रहेका छन्, जसमा पनि चीनमा रहेका केही कम्पनीहरु अमेरिकाको भन्दा पनि ठुला छन्, के यसलाई अमेरिकाको सफलता मान्न मिल्दैन ?”

वास्तविकता 

यी दुई मुलुकहरुको बीचमा वास्तविकता के हो त ? यो सबैको चासोको विषय हो तर सत्य यी दुवै मुलुकहरुको भनाइको बीचमा छ। अमेरिकाको आरोप र चीनको बचाउको बीचमा समाधान खोज्न सकियो भने यो समस्याको निकास निस्कन्छ। अहिले चीन ठुलो परिवर्तनको संघारमा रहेको छ। चीनको अर्थतन्त्र विस्तारको क्रममा रहेको छ र खुला हुँदै गइरहेको छ तर सरकारले भने अर्थतन्त्रमा नियन्त्रण कायम गरिरहेको छ। केही चिनियाँ कम्पनीहरुले निकै राम्रो प्रदर्शन गरिरहेका छन्। जसको कारण चीनको अर्थतन्त्र बलियो अवस्थामा रहेको छ। 

चिनियाँ कम्पनीहरुको उत्पादनहरुको कारण अमेरिकामा पनि सस्तो मूल्यमा सामग्रीहरु पाइँदै आएका छन्। वाङका अनुसार अहिले देखिएको व्यापारिक द्वन्द्वले दुई मुलुकहरु केबाट प्रेरित भइरहेका छन् भन्ने कुरा देखाएको छ। उनले भने, “ दुई मुलुकको सम्बन्ध श्रीमान्/श्रीमतीको जस्तो छ, जहाँ झगडा गर्न सकिन्छ तर छुट्टिन सकिँदैन।” यद्यपि यो झगडा अब छिटै साम्य हुने सम्भावना कमजोर देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ