संविधान दिवस : चार पार्टी चारतिर, कसले मनाउने दिपावली ?
प्रकाशित २०७५ असोज २ मंगलबार
339
Shares
काठमाडौं । केन्द्र सरकारले संविधान दिवस मनाउन भन्दै एक हप्ता अघि नै सूचना निकाल्यो । त्यो सूचना अनुसार असोज २, ३ र ४ गते तीन दिनसम्म यो राष्ट्रिय दिवसलाई हर्सोल्लासपूर्वक मनाउन भन्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको मूल समारोह समितिबाट पारित कार्यक्रम केन्द्रीयस्तरका मन्त्रालय, विभाग, कार्यालय एवं प्रदेश सरकार र स्थानीय तहहरुलाई एक हप्ता अगाबै पठाएको भनि गृहमन्त्रालयलले गोरखापत्रमै सूचना प्रकाशित गर्यो ।
त्यो सूचनामा सरकारी, गैरसरकारी निकाय, संघ संस्था एवं सर्वसाधारणले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रममा साथ संविधान दिवस मनाई कार्यालय तथा घरघरमा साँझ दिपावली गर्न भनिएको छ ।
संविधान जारी भएको तीन वर्ष पुग्दै छ। संविधान कार्यान्वयनका लागि गर्नुपर्ने धेरै कामहरु अझै बाँकि नै छन्। संवैधानिक बाध्यताका कारण मौलिक हकका कानून नै हतारमा ल्याइएका छन् । अर्कोतिर संविधान संशोधनको मुद्दा लिएर ‘प्रत्यक्ष र अप्रत्यक्ष रुप’मा सत्तामा रहेका दुई राष्ट्रिय दल विभाजित भएका छन् । नयाँ संविधान अनुसार भएको निर्वाचनबाट राष्ट्रिय दलको हैसियत प्राप्त पाँच दल अहिले (एमाले र माओवादी केन्द्रको एकतापछि)चार दल भएका छन् । चारमा पनि दुई दल संविधान दिवसमा दिपावली गर्ने तयारीमा छन् भने, दुई दल दिपावली नगर्ने पक्षमा उभिएका छन् । दिपावली मनाउनेमा पनि सत्तासीन नेकपा बढी उत्साही छ। प्रमुख पिपक्षी कांग्रेस मौन समर्थनमा ।
संविधान दिवसलाई नपचाउने दुई शक्ति सदनमा, केन्द्र सरकारमा र प्रदेश सरकारमा सहभागि छन् । हिजो संविधान संशोधनको माग राखेर संगै आन्दोलन गरेका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन संयुक्त लडेका, प्रदेश २ मा बहुमत पाएपछि संयुक्त सरकार बनाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा अहिले दुई ध्रुवमा छन् । राज्यले राष्ट्रिय उत्सवको रुपमा संविधान दिवस मनाउन आह्वान गर्दा संविधान कार्यन्वयन तहमा बसेका चार राजनीति दल भने चारतिर फर्किएका छन् । फोरमले केन्द्र सरकारमा सहभागि भएकाले संविधान दिवस पनि नमनाउने र विरोध पनि नगर्ने नीति लिएको छ । यहाँनेर, फोरमको ढुलमुले चरित्र प्रष्ट भएको छ ।
केन्द्रमा संविधान दिवसमा भाग पनि नलिने र विरोध पनि नगर्ने नीति लिएको फोरमले प्रदेश २ मा राजपासँगको संयुक्त सरकार भएकाले सरकारलाई स्वायत्तता दिने कि भन्नेसम्मको लचकता अपनाएको छ । यद्यपि, केन्द्रको निर्णय र निर्देशन गइसकेको छ । राजपाले पनि पहिल्यै कालो दिवस मनाउने घोषणा गरिसकेको छ । राजपा प्रदेश २ को सरकारमा सहभागि छ भने, केन्द्र सरकारलाई दिएको समर्थन यथावत छ । मात्र केन्द्रमा मन्त्रिपरिषदमा सहभागि छैन । यसरी चार राजनीतिक शक्ति चारतिर हुँदा नागरिकले कुन् उत्साहमा दिपावली गर्लान् ?