arrow

के चीनको ऋणमा रुमल्लिँदै छ माल्दिभ्स ?

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
china-maldives.jpg

काठमाडौं । माल्दिभ्स राष्ट्रपतीय निर्वाचनमा होमिएको छ । आइतबार हुने निर्वाचनले माल्दिभ्सको लागि नयाँ कार्यकालका लागि राष्ट्रपतिको चयन गर्नेछ । 

यो निर्वाचनको लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यामिनले पनि उम्मेदवारी दिएका छन् । यामिन चीनसँग निकट मानिन्छन् । आइतबार हुने निर्वाचनमा पनि उनले जित हासिल गरेको खण्डमा माल्दिभ्सको वित्तीय क्षेत्रमा दबाब बढ्नसक्ने देखिएको छ । अहिलेको सरकारको पालामा आधारभूत संरचना निर्माणको क्षेत्रमा चीनको पक्षबाट व्यापक मात्रामा सुधार आएको छ । 

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरुले भने चीनबाट लिएको ऋणले आगामी दिनमा माल्दिभ्सको अर्थतन्त्रमा नकारात्मक असर पार्नसक्ने भन्दै चेतावनी दिइरहेका छन् तर यामिनले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । 

बीआरआई योजनामा चीनको ऋणको चाल 

यामिन नेतृत्वमा रहेको माल्दिभ्स अहिले चीनको निकै नजिक पुगेको छ । लामो समयको सहयोगी मुलुक भारतको लागि यो चिन्ताको विषय बन्न पुगेको छ । माल्दिभ्सको अहिलेको सरकारले चीनसँग बेल्ट एण्ड रोड (बीआरआई) परियोजनामा आधारित सडक, पुल तथा अन्तर्राष्ट्रिय निर्माणको लागि ऋण लिएको छ । चीनको बीआरआई योजना मंगोलियादेखि लिएर मोन्टेनेग्रोसम्म करिब ७० मुलुकहरुमा फैलिएको छ । 

यद्यपि श्रीलंकाको एक बन्दरगाहमा चीनको प्रभुत्व कायाम हुनुले भने अन्य मुलुकहरुलाई चिन्ता बढाइदिएको छ । यसले चीनमाथि ऋणको चाल चलेको आरोप लाग्न सुरु भएको छ । चीनले भने आफूमाथि लागेको यस किसिमको आरोपको अस्वीकार गर्दै आएको छ । 

माल्दिभ्समा अहिले यामिन दोस्रोपटक ५ वर्षको सरकार बनाउने प्रयासमा रहेका छन् । उनका मुख्य विरोधी अहिले जेलमा रहेका छन् । आतंकवादी गतिविधिदेखि लिएर सरकार गिराउनका लागि भूमिका खेलेको आरोपमा उनलाई जेल हालिएको हो । जसको कारण माल्दिभ्सको निर्वाचनको वैधतालाई पनि सन्देह पैदा भएको छ । 

माल्दिभ्स मुख्यरुपमा पर्यटनमा निर्भर रहेको मुलुक हो । यस्तो मुलुकलाई बीआरआईमा सामेल गर्नुले यो मुलुकलाई समस्यामा पार्नसक्ने विश्लेषकहरुले बताउँदै आएका छन् । एक अमेरिकी संस्थाका अनुसार अहिले माल्दिभ्सलाई चीनले एक अर्ब ३० करोड डलरको ऋण दिएको छ । यो ऋण उसको वार्षिक जीडीपीको एक चौथाइको हिस्सा हो । निर्वासित प्रधानमन्त्री मोहम्मद नासिदले चीनसँग भएको सम्झौताको विषयमा वार्ता गर्न चाहेको बताएका छन् । उनले यो ऋण आगामी दिनमा २ अर्ब ५० करोड डलरभन्दा पनि बढी हुनसक्ने बताएका छन् । 

सेन्टर फर ग्लोबल डेभलपमेन्टका स्कट मौरिसले चीन ऋण दिएर आफ्नो प्रभुत्व कायम गर्ने दिशामा अघि बढिरहेको बताए । उनका अनुसार अन्य ऋणदाताहरुजस्तो कुनै पनि नियममा चीन नबाँधिएको कारण आगामी दिनमा चीनको ऋण समस्या बन्नसक्ने बताए । 

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चीनले यस किसिमको ऋण दिइरहेको अवस्थामा आगामी दिनमा स्थिति खराब हुनसक्ने बताउँदै आएका छन् । विश्लेषकहरुले कुनै एउटा मुलुकले यति धेरै लगानीको योजना ल्याएको पहिलोपटक देखिएको बताउँछन् । 

राजनीतिक खतरा 

आधिकारिक विवरणअनुसार माल्दिभ्सको अर्थव्यवस्थामा पछिल्लो ५ वर्षदेखि ६ प्रतिशतको वृद्धिदर हासिल भइरहेको छ । जसको कारण पर्यटन तथा निर्माणको क्षेत्रमा व्यापक मात्रामा वृद्धिदर हासिल भएको देखिएको छ । यद्यपि अन्तर्राष्ट्रिय एजेन्सीहरुले भने विदेशी लगानीकर्ताहरुबाट सतर्क रहनका लागि सुझाव दिँदै आएका छन् । माल्दिभ्सको सर्वोच्च अदालतले राजनीतिक बन्दीहरुलाई यामिनको इच्छाविरुद्ध रिहा गरेसँगै माल्दिभ्समा राजनीतिक संकट चुलिएको थियो । 

यो समस्याको कारण चीनसहित राष्ट्रसंघका धेरै मुलुकहरुले माल्दिभ्स भ्रमणमा आफ्ना नागरिकहरुलाई रोक लगाएको थियो । राजनीतिक हिसाबमा अहिले देखिएको समस्याले पनि नीतिहरुलाई प्रभावित गर्नसक्ने र पर्यटन क्षेत्रमा त्यसको नकारात्मक असर पर्नसक्ने विश्लेषकहरुले बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ