कहाँबाट उतारे सीके राउतले जनकपुरमा हजार जना ?, छक्क परे प्रहरी प्रमुख
भने–'उत्ताउलो केही बोलेनन्'
प्रकाशित २०७५ असोज ३ बुधबार
688
Shares
काठमाडौं । प्रदेश २ को राजधानी जनकपुरको रामानन्द चोकमा वुधबार स्वतन्त्र मधेसको नारा लगाउँदै झण्डै एक हजार जना भेला भए । धनुसाका प्रहरी प्रमुख एवं एसपी गोविन्द थपलिया अचम्म परे : स्वतन्त्र मधेस गठबन्धन चलाइरहेका सीके राउतसँग जनकपुरमै यति धेरै मान्छे छन् ?
उनले संविधान विरोधी नारा लगाएका कारण राजपाका कार्यकर्ता पनि मिसिएको शंका समेत गरे । तर, राजपाका एक जना महासचिव कौशलेन्द्र मिश्रले आफ्ना कार्यकर्ताहरु सीके राउतकहाँ जाने कुनै सम्भावना रहँदैन, भने । उनले भने, ‘ राजनीतिक विचारको रुपमा पनि त्यो विकृत विचार हो । प्रजातान्त्रिक पद्दतीको कुरा गर्नेहरुले गरेको कमजोरीको फाइदा उठाइरहेको समूहलाई हाम्रा कार्यकर्ता त के हाम्रा विरोधीले पनि सीके राउतलाई सघाउँदैनन् ।’ कहाँबाट त्याे मान्छे उत्रिए हाेलान् ? मिश्र हाँसे ।
तर, प्रहरी प्रमुख थपलियाले राजपाका कार्यकर्ता, हेर्न मान्छेहरु गरेर ८ देखि ९ सय जना मान्छे उपस्थित भएकै हुन्, भने । सीके राउतले सम्बोधन गर्दा प्रहरी पनि त्यहीँ थियो, उनले भने, ‘शान्ति सुरक्षाका लागि हामी खटिनै पर्यो नि !’ राउतलाई त तपाईहरु खोज्दै हुनुहुन्थ्यो हैन ? जवाफमा उनले भने, ‘होइन हामीले खोजिरहेका थिएनौँ । केही उछृंखल गर्छन् कि भन्नेतर्फ हाम्रो निगरानी थियो । सम्बोधनमा पनि त्यस्तो उत्ताउलो केही बोलेनन् ।’
किन रहेछ त सम्बोधन गरेको ? प्रहरी प्रमुख थपलियाका अनुसार, ‘आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धान्जली सभा, मधेस आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा कार्यक्रम गरिएको भनियो ।’ सीके राउतका कार्यकर्ता पक्राउ गर्नु र सीके राउतलाई पक्राउको आदेश छैन भन्नुलाई कसरी लिने ? जवाफमा उनले भने, ‘कार्यकर्तालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । पक्राउ गरेको होइन । सीके राउतले पनि पक्राउ गर्नु पर्ने अहिले त्यस्तो केही गरेका छैनन् ।’
राजपा महासचिव कौशलेन्द्र मिश्रको भनाईलाई मान्ने वा संविधानविद् भिमार्जुन आचार्यको भनाईलाई मान्ने हो भने यसरी जनविश्वास घट्दै गए संविधानको आयु धेरै लामो छैन ।
संविधानविद् आचार्यले वर्तमान सरकारको कार्यशैलीप्रति आलोचना गर्दै भनेका छन्, ‘संविधान जनविश्वासको दस्तावेज हो । यसको दीर्घायु जनविश्वासमा निर्भर हुन्छ । संविधानको कार्यान्वयन जनविश्वासको प्रमुख आधार हो । अरिङगाल शैलीको आक्रमण र प्रत्याक्रमणले संविधानमाथि जनआस्था जगाउन संम्भव हुदैन । संविधान दिवसले शासकहरूमा संविधानको पालना गर्ने, फरक मतको कदर गर्ने सदबुद्धि देओस्’