arrow

संविधान कार्यान्वयन भए मात्र पंगेनीप्रति सच्चा श्रद्धाञ्जलि

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
pangeni.JPG

काठमाडौँ । संविधानको कार्यान्वयन भए मात्र स्वर्गीय कमल पंगेनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताइएको छ ।

नेपाली कांग्रेस स्याङ्जाका पार्टी सभापति एवं संविधानसभा सदस्य स्व पंगेनीको ४५ औँ पुण्यतिथिका अवसरमा कांग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा संविधान निर्माणमा पंगेनीको ठूलो योगदान रहेको नेपाली कांग्रेसका नेताहरुले बताएका हुन् ।

सो अवसरमा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले स्व पंगेनीले कांग्रेस स्याङ्जाको सङ्गठनलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । “बिपी कोइरालाले भनेजस्तै कांग्रेस हेर्न स्याङ्जा जानुहोस् भन्ने सङ्गठन निर्माण गर्न तपाईंहरु लाग्नुहोस्”, उनले भने ।

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी रुपान्तरणका लागि अहोरात्र खट्ने नेता स्व पंगेनी भएको बताए । “पंगेनीको नाममा स्थापित प्रतिष्ठानले देशभर कांग्रेस सङ्गठन बलियो बनाउन लाग्नुपर्छ”, उनले भने ।

अर्का नेता गोपालमान श्रेष्ठले बिपी कोइरालाको संविधानसभाबाट संविधान निर्माण गर्ने सपना पंगेनीले पूरा गरेको उल्लेख गर्दै संविधान कार्यान्वयन भए पंगेनीको सपना पूरा हुने बताए । “पंगेनीको नाममा स्याङ्जामा हृदयरोग केन्द्र स्थापना गर्नुपर्छ”, उनले भने ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले स्याङ्जा कांग्रेस सङ्गठन बलियो बनाउन पंगेनीको महत्वपूर्ण भूमिका रहेको भन्दै स्याङ्जा कांग्रेस बलियो भए मात्र पंगेनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

सम्पर्क समितिका सभापति देवीप्रसाद अर्याल, कांग्रेस नेता धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, पूर्वसांसद राजु थापा लगायतले पंगेनी स्याङ्जा कांग्रेसका कुशल सङ्गठक रहेको उल्लेख गर्दै कांग्रेस स्याङ्जामा रहेको गुट उपगुटको अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

दुई पटक स्याङ्जा कांग्रेसको पार्टी सभापति र दोस्रो संविधानसभाको निर्वाचनमा संविधानसभा सदस्य बनेका पंगेनीको साउन २० मा स्याङ्जामा हृदयघातका कारण निधन भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ