arrow

आन्दोलन घोषणा बिना नै सार्वजनिक सवारी चलाइएनन्,  यात्रु अलपत्र

सरकार मौन, पक्राउ पर्ने डरले यातायात व्यवसायीले नयाँ विरोध शैली अपनाए

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज ४ बिहिबार
butwal2.jpg

बुटवल । कसैको सार्बजनिक आब्हान बिना नै बुटबलमा सार्बजनिक सवारी साधन ठप्प रहेका छन् । बुटवलसहित यस क्षेत्रका बिभिन्न बस पार्कबाट सार्बजनिक बस छुटेका छैनन् । बस समितिहरुले पनि क्यु प्रकाशित गरेका छैनन् । बन्दको आब्हान बिना नै सडकमा सार्बजनिक सवारी साधन नचलेपछि सर्बसाधारण भने अप्ठारोमा परेका छन् ।

बस मात्रै होइन ट्रक समेत चलेका छैनन्  । कुनै पार्टी तथा सस्थाले बन्द आब्हान नगरेको अवस्थामा किन सार्बजनिक सवारी चलेनन भन्ने सम्वन्धमा यस क्षेत्रका बस तथा ट्रक समितिका पदाधिकारीहरुले चालक नआएकाले गाडी नचलेका बताएका छन् । 

चालकहरुले पनि औपचारिक रुपमा बन्द गरेको भनेका छैनन । तर गाडी नचलाउने घोषणा वा आब्हान गर्दा पक्राउ परिने डरले चालकहरु र बस तथा ट्रक समितिहरुले बिना घोषणा नै गाडी नचलाएको बुझिएको छ ।

सरकारले सिण्डिकेट खारेजीको घोषणा गरेर खाता रोक्का गरेपछि सरकारसंग रुष्ट बनेका व्यवसायीलाई अहिले अनौपचारिक रुपमा चालकहरुले समेत साथ दिएका छन् । 

हालै सवारी ऐन संशोधन भएपछि चालकहरु त्यसको बिरोधमा उत्रिएका छन्  । संशोधित सवारी ऐनमा सवारी दुर्घटनामा चालकको लापवाही पाइए कडा कारवाही गर्ने व्यवस्था छ ।

सार्बजनिक सवारी नचलेको सम्वन्धमा संघिय ट्राफिक प्रहरी कार्यालय बुटवलले चालकहरुले अनौपचारिक रुपमा बन्द गरेको भन्ने सुनिएको तर आधिकारिक जानकारी नभएको बताएको छ ।

पश्चिम नेपाल बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले चालक आएर गाडी चलाएका समितिले काउण्टरबाट क्यु दिने बताए । घिमिरेले क्यु दिने बताए पनि समितिले नियमित रुपमा प्रकाशित गर्ने क्यु अस्तीदेखि नै प्रकाशित गरेको छैन ।

किन यस्तो भयो भन्ने सम्वन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले यातायात व्यवसायी समितिले चालकलाई देखाउने गरेको र चालकहरुको संगठन नभएकाले यसका बारेमा अध्ययन गरीरहेको बताए । 

सवारी चलाउन यातायात मजदुरलाई आग्रह
कसैको सार्वजनिक आह्वानबिना नै बुधबारदेखि सार्वजनिक सवारी साधन नचलेपछि नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्रदेश ५ कार्यालय बुटवलले गाडी यथावत चलाउन चालकहरुलाई आग्रह गरेको छ ।  
बस तथा ट्रक समितिका पदाधिकारीहरुले चालक नआएकाले गाडी नचलेको बताएपछि मजदूर संगठनले विज्ञप्ती नै निकालेर व्यवसायीहरुले उल्टो प्रचार गरेको भन्दै यातायात मजदूर तथा व्यवसायीहरुलाई सवारी साधन सञ्चालन गर्न अपिल गरेको हो ।

संगठनका प्रदेश अध्यक्ष कृष्ण कंडेलद्वारा जारी विज्ञप्तीमा सवारी ऐन २०४९ को व्यवस्था भन्दा भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता अग्रगामी रहेको भन्दै कानुनको अध्ययन नै नगरी विरोध गर्नुको औचित्य नरहेको उल्लेख छ । 

ऐनको कार्यान्वयन निष्पक्ष ढंगबाट गर्न र कुनैपनि श्रमिकलाई अनावश्यक हैरानी हुन नदिन संगठनले सरकारसँग आग्रह गरेको छ ।

व्यवसायीहरुले यातायात मजदूरमाथि विभिन्न किसिमका भ्रामक प्रचार गरी सवारी बन्द गरिनु दुःखद भएको उल्लेख गर्दै विज्ञप्तीमा स्वरोजगार श्रमिक व्यवसायीलाई धरासायी बनाउने नियोजित षडयन्त्रपुर्वक सवारी बन्द नगर्न समेत विज्ञप्तीमा आग्रह गरिएको छ । 

नजिकिंदै गरेको चाडपर्व तथा संविधानको उत्सवमा समेत असर पर्ने गरी बन्द गरिएकोमा मजदूर संगठनको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा जनाइएको छ ।

सरकारले सिण्डिकेट खारेजीको घोषणा गरेर खाता रोक्का गरेपछि सरकारसंग रुष्ट बनेका व्यवसायीलाई अहिले अनौपचारिक रुपमा चालकहरुले समेत साथ दिएका छन । हालै सवारी ऐन संशोधन भएपछि चालकहरु त्यसको विरोधमा उत्रिएका छन् । 

मजदूर संगठनले भने विरोध गर्नुपुर्व कानुनको अध्ययन गर्न सुझाव दिएको छ ।
 



नयाँ