arrow

मेयर,उपमेयरलाई विदेश भ्रमण रोक्ने लालबाबु भने विदेशमै मस्त

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
Lalbabu-Pandit.jpg.jpeg

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका प्रतिनिधिहरुलाई विदेश भ्रमणमा कडाइ गरेका छन् । मन्त्रीको निर्देशन अनुसार सामान्य प्रशासन मन्त्रालयका सचिवले केही दिन अघि सबै स्थानीयतहलाई परिपत्र पठाएर विदेश भ्रमणमा निकै कडाइ गरेको थिए ।

तर सामान्य प्रशासन मन्त्री भने यतीखेर विदेश भ्रमणमा मस्त छन् । उनी मात्रै नभइ,, उनले आफ्ना स्वकिय सचिव, निजि सचिव र पत्नीलाई समेत विदेश भ्रमणमा लगेका छन् । विदेश भ्रमणमा मन्त्री मात्र छैनन्, मन्त्रालय उच्च कर्मचारीहरुले पनि श्रीङखलाबद्ध रूपमा विदेश भ्रमण गर्ने गरेका छन् ।   

सोमबार सामान्य प्रशासन मन्त्री  पण्डितले आफनी पत्नी र स्वकीय सचिवलाई समेत लिएर चीन भ्रमणमा हिडेका छन् । उनी असोज ५ मा मात्रै काठमाडौंमा फर्कने भएका छन् । मन्त्री पण्डितका निजि सचिव र स्वकीय सचिव पनि अहिले  विदेशमा छन् । नीजि सचिव मनोज राइ मन्त्रीसँगै चीन भ्रमण गएका छन् भने नीजि सचिव रमेश अधिकारी जर्मन भ्रमणमा गएका छन् । यतीखेर मन्त्रालयका ५ सह सचिव मध्ये ३ सहसचिव यसवेला विदेशमै छन् ।

चीनको शहर छेन्दुमा हुने अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन गत असोज १मा मन्त्री पण्डित चीन पुगेका हुन । उनीसँग मन्त्रालयका सहसचिव केदार पनेरू पनि चीन गएका छन् । यसैगरी दक्षिण पुर्बी एशीयाली राष्ट्रहरूको प्रशासनिक सम्मेलनमा सहभागी हुन मन्त्रालयका अर्का सहसचिव भुपाल बराल  गत साता इण्डानेशियामा छन् । यसैगरी मन्त्रालयका अर्का सहसचिव पुरूषोत्तम नेपाल यतीखेर जर्मन भ्रमण्मा छन् ।

 नगरपालिकाहरूको क्षमता अभिबृद्धि कार्यक्रमा सहभागी हुन उनी जर्मन पुगेका हुन । उनीसँगै मन्त्रालयका उपसचिव वीष्णुदत्त गौतम पनि जर्मन पुगेका छन् । गत सोमबार मात्र मन्त्रालयको एउटा ठूलो टोली चीन भ्रमण गरेर काठमाडौं फर्केको छ । सो टोलीमा उपसचिव द्धय ऋषि आचार्य र भोला गुरागाँइ सहभागी थिए । यसैगरी मन्त्रालयका चार जना शाखा अधिकृत पनि उपसचिवको टोलीसँगै मंगलबार काठमाडौ फर्केको छ ।

मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयले केही महिना अघि ल्याएको ३६ बुँदे सार्वजनिक खर्च मितव्ययीता निर्देशिका पनि ‘सानालाई ऐन ठूलालाई चैन’ सावित भएको छ । सो निर्देशिकामा पनि विदेश भ्रमणमा कडाइ गरिएको छ तर मन्त्री र मन्त्रालयका उच्च कर्मचारीहरुलाई भने निर्देशिकाले छुने गरेको छैन तर साना कर्मचारीहरुलाई मात्रै निर्देशिका प्रभावित हुने गरेको छ,—मन्त्रालयका एक कर्मचारी बताउछन् ।

 निर्देशिका ल्याइए पनि मन्त्री र उच्च कर्मचारीहरको विदेश भ्रमणको क्रम रोकिएको छैन । प्रधानमन्त्रीको कार्यालयले विदेश भ्रमण गर्ने कर्मचारीहरूको सुचि सम्बन्धित मन्त्रालयले सार्वजनिक गर्न सबै मन्त्रालयलाई निर्देशन पनि गरेको छ । तर सबै मन्त्रालयले प्रधानमन्त्रीको कार्यालयको सो निर्देशनलाई उलङघन गरेका छन् ।  

मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयले दुइ हप्ता अघि सबै मन्त्रालयलाई परिपत्र पठाएर विदेश भ्रमण गर्ने कर्मचारीहरूको विवरण सम्बन्धित मन्त्रालयले आफ्नो वेइभसाइटमा सार्वजनिक गर्न  निर्देशन गरेको थियो । तर बुधबारसम्म अधिकाशं मनत्रालयले विदेश भ्रमण गर्ने कर्मचारीहरूको विवरण आफ्नो वेइभसाइटमा सार्वजनिक गरेका छैनन् ।

यस बिवषयमा जिज्ञासा राख्दा मन्त्रालयका कर्मचारीहरु चाँडै विदेश भ्रमण गर्ने कर्मचारीहरूको सूचि वेइभसाइटमा राख्ने बताउछन तर व्यवहारमा भने कार्यान्वयन गर्दैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ