arrow

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : उपराष्ट्रपति पुन

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
Nanda-Bahadur-Pun-firta-news.jpeg

काठमाडौँ ।उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।

चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहिबार सम्बोधन गर्दै उनले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताए ।

 चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको छ भने।

केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआइ) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोगसम्बन्धी भएका समझदारी महत्वपूर्ण रहेको उनले उल्लेख गरे।

उपराष्ट्रपति पुनले विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको प्रशंसा गरे। चिनियाँ राष्ट्रपतिले बिआरआइमार्फत सम्बद्ध राष्ट्रबीच सहयोग अभिवृद्धि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सार्नुभएको विचारको स्वागत गर्दै उहाँले त्यसमा नेपाल सामेल हुन पाएकोमा खुशी व्यक्त गरे।

बिआरआइसम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सहयोग अगाडि बढाउने कुरामा दुवै देश प्रतिबद्ध रहेको उपराष्ट्रपति पुनको भनाइ थियो ।

काठमाडौँ र छेन्दु शहरबीच स्थापना भएको भगिनी सम्बन्धले नेपाल र सिचुवान प्रान्तबीचको सम्बन्धमा नयाँ आयाम थपेको उनले बताए । नेपालमा गत वर्ष सम्पन्न सङ्घीय संरचनाअनुरुपको ऐतिहासिक निर्वाचनपश्चात् मुलुकमा शान्ति, स्थिरता र समृद्धिको ढोका खुलेको बताउँदै उपराष्ट्रपति पुनले नेपालको आगामी प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु र सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को बृहत् लक्ष्य हासिल गर्नु रहेको छ भने।

उनले सडक सञ्जाल, रेल्वे, ऊर्जा उत्पादन एवं यसको वितरणजस्ता आधारभूत पूर्वाधारको निर्माण एवं सीमा वारपार रेल्वे, राजमार्ग, सञ्चार, प्रसारण लाइनलगायतका क्षेत्रमा विकास गर्ने लक्ष्य रहेको बताउँदै व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्यसमेत रहेको उल्लेख गरे।

उनले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट आउनुभएका लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाबाट फाइदा लिन र लगानी गर्न आग्रह गरे।

“नेपालको प्रचलित ऐन कानून र नीति लगानीमैत्री रहेका छन् । विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानूनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईहरूलाई लाभ नै हुनेछ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु”, उनले भने। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको सन्दर्भमा नेपाल भ्रमणका लागि चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन चिनियाँ पर्यटन व्यवसायीलाई उपराष्ट्रपति पुनले आग्रह गरे ।

मेलामा सहभागी नेपाली उद्यमी, लगानीकर्ता तथा व्यवसायीको चिनियाँ एवं विदेशी समकक्षीसँगको संवाद, अन्तक्र्रिया र सम्झौताबाट दीर्घकालीन सहकार्य र साझेदारी बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गरे।

 सन् २००० देखि आयोजना भइरहेको यस मेलाले चीन तथा सहभागी मुलुकलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोडिरहेको छ । मेलाले व्यापारी, उद्यमी तथा लगानीकर्ताबीच विचार आदनप्रदान, सम्बन्ध स्थापना, अन्तक्र्रिया एवं व्यापारिक सहकार्यको अभिवृद्धि गर्ने अवसर प्रदान गर्दै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ