arrow

सवारी र चालकको प्रशासनले सुरक्षा गर्ने सहमतिपछि यातायात सञ्चालन

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
vehicle.jpg

बुटवल । मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको विरोध गर्दै आन्दोलनरत् सवारी चालक मजदुर र प्रशासनबीच बिहीबार सहमतिपछि यातायात सञ्चालन भएको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने सहमतिपछि सवारी साधन चलेका छन् । 

चालकहरुले सरकारले कानूनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको विरोधमा गाडी थन्क्याएर आन्दोलन गरेका थिए । गाडी नचल्दा यात्रु मर्कामा परेकाले बिहीबारैदेखि गाडी सञ्चालन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने तथा गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतिपत्र १५ दिनसम्म निलम्बन गर्ने समेत सहमति भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । 

यता सवारी चालक मजदुरहरुको आन्दोलनका कारण रुपन्देहीलगायतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । तीन दिनदेखि चालकहरु आन्दोलनमा उत्रिएपछि रुपन्देहीसहित विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ । 

पेट्रोलियम पदार्थको अभाव शुरु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बिहीबार ट्याङ्कर चालक, व्यवसायी र पेट्रोलियम व्यवसायीको बैठक बसेको थियो । बैठकमा ट्याङ्कर चालहरुले अत्यावश्यकीय वस्तु पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने प्रतिबद्धता जनाएका छन् । 

पश्चिामाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका कार्यबाहक अध्यक्ष हिमाल गैरेले रुपन्देहीसहित यस क्षेत्रका अन्य जिल्लामा डिजेलको समस्या नभएको तर पेट्रोलको समस्या बिहीबारको सहमति कार्यान्वयन भएपछि शुक्रबारदेखि सहज हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ