arrow

अमेरिका फेरि चीनमाथि खनियो, झोंक रुससँग मिसाइल किनेकोप्रति

सैन्य क्षेत्रमाथि लगायो प्रतिबन्ध

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
china-milittaly.jpg

काठमाडौं । अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रुससँग सैन्य विमान र मिसाइल खरिद गरेको भन्दै अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्धको निर्णय गरेको हो । 

अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाइरहेको अवस्थामा ऊसँथ सैन्य सम्झौता गर्ने मुलुकहरुमाथि पनि प्रतिबन्ध लगाउने बताउँदै आएको थियो । अमेरिकाले युक्रेनको भूमिमा रुसले अधिपत्य जमाएको भन्दै रसियामाथि प्रतिबन्ध लगाइरहेको छ । 
चीनले केही समयअघि मात्र १० ओटा सु–३५ फाइटर विमान र एस–४०० मिसाइल खरिद गरेको थियो । पछिल्लो समय चीन रुसको सम्बन्धमा उल्लेख्य सुधार आइरहेको अवस्थामा अमेरिकाले चीनमाथि यस्तो निर्णय गरेको हो । 

यो प्रतिबन्धबाट को को प्रभावित हुन्छन् ? 

चिनियाँ सामग्री विकास विभाग (ईडीडी) र यसका प्रमुख लि साङफु यो प्रतिबन्धको निशानामा परेका छन् । यो विभागबाट रुससँगको खरिद सम्झौता पूरा भएको थियो । यसको अर्थ ईडीडी र लिको नाममा अमेरिकामा रहेको सबै सम्पत्ति जफत हुनेछ । साथै अमेरिकामा कुनै पनि व्यवसाय गर्नबाट उनीहरु प्रतिबन्धित हुनेछन् । त्यसका साथै ईडीडीको निर्यात अनुमतिपत्र पनि रद्द गरिनेछ भने अमेरिकाको वित्तीय प्रणालीबाट पनि यसलाई बाहिर राखिनेछ । अमेरिकाले थप ३३ जना मानिसहरु तथा सम्बन्धित संस्थाहरुलाई रुसको सैन्य तथा गुप्तचर संस्थासँग सम्बन्ध रहेको भन्दै प्रतिबन्धितको सूचीमा राखिएको छ । 

चीनमाथि प्रतिबन्धको अमेरिकी कानुन 

डोनाल्ड ट्रम्पको प्रशासनले सन् २०१७ मा पारित गरेको कानुनमा आधारित रहेर यो प्रतिबन्ध लगाइएको हो । उक्त व्यवस्थामा रसिया, इरान र उत्तर कोरियासँग सम्बन्ध रहेका मुलुकमाथि राजनीतिक तथा आर्थिक प्रतिबन्ध लगाउन सकिने उल्लेख गरिएको छ । विहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले यो प्रतिबन्ध कार्यान्वयनका लागि निर्देशन दिएका हुन् । 

 यो प्रतिबन्धको वास्तविक लक्ष्य चीन नभई रुस रहेको अमेरिकाले बताएको छ । यसै किसिमको प्रतिबन्ध अन्य मुलुकहरुलाई पनि लगाउने विषयमा छलफल भइरहेको अधिकारीहरुले बताएका छन् । 

रुसको कस्तो प्रतिक्रिया ? 

रुसका नेताहरुले भने यो प्रतिबन्धले रुसलाई कुनै पनि असर नगर्ने बताएका छन् । साथै रुसको फाइटर विमान तथा मिसाइलको व्यापर पनि यथावतरुपमा जारी रहने बताएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै नेताहरुले यस किसिमका सैन्य सामग्रीहरु चीनलाई निकै महत्वपूर्ण रहेको पनि बताएका छन् । रुसको लागि एसिया सबैभन्दा महत्वपूर्ण सैन्य सामग्रीहरु निर्यात हुने क्षेत्र हो । सन् २००० यता रुसको समग्र सैन्य सामग्रीहरु निर्यातको ७० प्रतिशतको हिस्सा एसियाले ओगट्दै आएको छ । भारत, चीन र भियतनामको हतियारको प्रमुख स्रोत रुस हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ