भारतीय सेनाध्यक्षले नेपालबारे धावा बोले, भारत सरकारसँग पत्राचार गर्नुपर्छ : विवेकशील
प्रकाशित २०७५ असोज ५ शुक्रबार
541
Shares
काठमाडौँ । विवेकशील साझा पार्टीले नेपालभित्र र नेपाल बाहिरबाट मुलुकको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
संविधान दिवसका दिन प्रदेश नं २ मा एक समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा प्रहार हुने गरी भेला र भाषण गरेको भन्दै उक्त पार्टीले त्यसको भत्र्सना गरेको छ ।
सो पार्टीले आज एक विज्ञप्तिमार्फत कुनै पनि आवरणमा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामाथिको प्रहारलाई सरकारले लाचार भएर हेरी बस्नु आपत्तिजनक रहेको उल्लेख गरेको छ । तर संविधानप्रतिको असन्तुष्टिलाई सबै दल र सरकारले सक्दो लचकताका साथ राजनीतिक हिसाबले सम्बोधन गर्न जरुरी रहेको विवकेशील पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी केही दिनअघि भारतीय सेनाध्यक्ष विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपालले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका खबर प्रकाशमा आएको उल्लेख गर्दै सो पार्टीले नेपाल सरकारलाई सो बारेमा भारत सरकारसँग पत्राचार गर्न र भविष्यमा द्विपक्षीय सम्वन्धमा आँच आउन सक्ने त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति दोहोरिन नदिन सरकारलाई अनुरोध गरेको छ ।