arrow

अमृता फाउण्डेशन नेपालका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
Rama_Karki.JPG

काठमाडौं। अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

उक्त यौनदुर्व्यवहारको घट्ना बाहिर ल्याउन लागेको भन्दै उल्टै पीडक कार्कीले आफूमाथि योजनाबद्ध रुपमा भौतिक आक्रमण गरेको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेकी छिन् ।  

उक्त संस्थाकी सल्लाहकार कार्कीले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाईन् । संस्थाकी सल्लाहकार कार्कीले संस्थाका जिम्मेवार व्यक्तिबाटै महिला सहकर्मीमाथि यस्तो यौन दुर्व्यवहार हुनु दुःखद् भएको भन्दै पीडकलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरेकी छिन् ।

उनले भनिन्,‘आफ्नै संस्थामा कार्यरत महिला सहकर्मीमाथि एउटा जिम्मेवार व्यक्तिबाट यस्तो नीच कार्य हुनु अत्यन्तै निन्दनीय छ । नीज कार्कीलाई सरकारले कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ ।’ महिला भएकै कारण आफू कार्यरत कार्यालयका पुरुष मित्रले यस्तो अमानवीय र महिलामाथि यौनजन्य हिंसा गर्नु महाअपराध भएकोले यो घट्नाको जति नै भत्र्सना गरेपनि कम हुने उनको भनाई छ ।
 
फाउण्डेशनले विगत ५ वर्षदेखि विभिन्न मानसिक आघात र परिस्थितिमा रहेका विरामीहरुलाई आवासीय सुविधासहितको उपचार प्रदान गर्दै आईरहेको जनाउँदै उनले यो पछिल्लो घट्नाले आफ्ना महिला विरामीहरुको सुरक्षामाथिपनि थप प्रश्नचिन्ह खडा गरिदिएको गुनासो पोखिन् ।

उनले भनिन्,‘संस्थाले पछिल्लो ५ वर्षमा धेरै राम्रो सेवा प्रदान गर्दै आईरहेको कुरा सबैलाई थाहा नै छ । तर, संस्थामा आवद्ध अमृत कार्कीजस्ता मानवता नै नभएका व्यक्तिका कारण अहिले संस्था विवादमा तानियो । यो पनि दुःखद् कुरा हो । यस्ता व्यक्तिलाई संस्थाले चाँडोभन्दा चाँडो कारबाही गर्नुपर्छ । पीडितले किटानी उजुरी नै दिईसक्नुभएको छ । यस्तो अवस्थामा घट्नाको सत्यतथ्य पत्ता लगाई प्रहरी प्रशासनले दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ । म यही मञ्चबाट पीडितलाई न्याय दिलाउन नेपाल सरकारसमक्ष हार्दिक आग्रह गर्दछु ।’

हाल संस्थामा ३५ भन्दा बढि महिला विरामीहरुले आवासीय सेवा लिईरहेको उनले जानकारी दिईन् । आफूले यो विषयमा गम्भिर आपत्ति जनाउँदै संस्थाका पदाधिकारीहरुसँग छलफल गरेको र दोषीलाइ कडाभन्दा कडा कारबाहीको माग गर्दा स्वयम पीडक कार्कीले उल्टै आफूमाथि भौतिक आक्रमण गरेको पनि कार्कीले जानकारी दिईन् ।

 उनले भनिन्,‘हिजोमात्रै नीज पीडक कार्कीले ममाथि भौतिक आक्रमण गर्न लगायो । उसले भाडामा गुण्डाहरु खटाएर ममाथि आक्रमण गराएपछि मैले गौशला प्रहरीमा यसबारेमा उजुरीसमेत दिईसकेकी छु ।’

त्यस्तै कार्यक्रममा पीडित सिता (नाम परिवर्तन) ले आफूमाथि यौनहिंसा भएकोले नीज पीडक कार्कीलाई चाँडोभन्दा चाँडो कडा कानुनी कारबाही गर्न सरकारसँग अपिल गरेकी छिन् । उनले भनिन्,‘म त प्रतिनिधि पात्र मात्रै हुँ । मजस्ता अन्य महिला साथीहरु पनि संस्थामा आवद्ध कार्कीजस्ता खराब नियतका व्यक्तिहरुबाट यौन हिंसाको शिकार हुनुभएको छ । मैले त साहस गरेर यो कुरा मिडियासामू ल्याएकी छु । अब अरु पीडितले पनि आफ्ना कुराहरु बाहिर ल्याउन डराउनुहुँदैन् ।’

उनले हिंसा सहनुपनि अपराध भएको भन्दै आफूमाथि भएको यस्तो यौनजन्य हिंसा रोक्नको लागि पीडितहरु बाहिर आउनुपर्ने समेत धारणा राखिन् ।  उनले आफूमाथि हिंसा गरेको भोलिपल्टै त्यही पीडक कार्कीले जागिरबाट निकालिदिएकोपनि सुनाईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ