arrow

किलागलको देवी नाँच सात पात्र : सातवटै वाद्यवादन, चर्या गीत र सातवटै डबलीको संयोग

जयप्रकाश मल्लले हेरेको अन्तिम नाँच

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
nach.jpg

काठमाडौं । काठमाडौंको किलागल टोलबाट प्रदर्शन गरिने (दीप्याख) अर्थात् देवी नाँच  इन्द्रजात्राका बेला प्रर्दशनी हुने नाच मध्ये एक हो ।


काठमाडौंमा प्रर्दशनी हुने लाखे, पुलुकिसि, महाकाली, सवभक्कु मध्ये यो नाच इन्द्रजात्रामा प्रर्दशनी हुनेमध्ये सबैभन्दा लामो  ’देवी नाच’ हो ।

इन्द्रजात्राको पहिलो दिन काठमाडौं हनुमानढोकामा लिंगो उठाउने बेला हनुमानढोका मै यो नाच प्रदर्शन गर्ने चलन छ । इन्द्रजात्राको सुरुवाट हुदैछ भन्ने सुचकका रुपमा यो नाच देखाउने प्रचलन छ ।

तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीदेखि ननिको डबलीमा सुरु भएको यो नाच इन्द्रजात्राको अन्तिम दिन १२ गतेसम्म देखाइन्छ ।
भाद्र शुक्ल अष्टमी कायाष्टमीका दिनदेखि भने किलागलस्थित डबलीमा सुरु भई बिभिन्न सात डबलीमा  प्रर्दशनी हुनेछ  । किलागलस्थित ननिको डबलीमा देखाइँदै गरेको नाच भाद्र शुक्ल अष्टमी देखि भने किलागल, जैसिदेवल, वसन्तपुर, इन्द्रचोकलगायत विभिन्न सातवटा डबलीमा देखाउन सुरु गरिएको छ ।

देवीनाचको मुख्य विशेषता भनेकै सातको संयोग हो। यसमा सुर, ताल, बाजा मात्र होइन, गुरु पनि सातैजना हुन्छन्।  नियमअनुसार नाच समेत सात घन्टा नै देखाउनुपर्छ। नाच देखाउने डबली पनि सातवटै छन्। देवीनाचमा कुमारी, भैरव, चण्डी, दैत्य, कवः (कंकाल), वेताः र ख्याःको भेषमा सजिएका पात्रले विभिन्न भावमा नृत्य प्रस्तुत गर्छन्।

कुमारीले दैत्यलाई युद्धमा पराजित गरेर दैत्य भागेपछि नाच सकिने परम्परा छ ।  उपत्यका अरु नाचमा दैत्यको वध गरिन्छ भने यो नाचमा देवी नाचमा भने पराजित भएको दैत्य भागेर जान्छ ।

इन्द्रजात्राका अवसरमा कुमारीको रथ सहरको दक्षिणतर्फ तान्दै ल्याउने क्रममा जैसिदेवल आइपुग्दा रथ रोकेरै कुमारीलाई देवीनाच देखाउने चलन समेत छ।

यो नाच राजा गुण कामदेवले सुरु गरेको विश्वास गरिन्छ ।  देवीनाचका गीतमा समेत गुण कामदेवको उल्लेख भएकाले त्यसलाई पुष्टि गर्ने संस्कृतिविद् सत्यमोहन जोशीको तर्क छ ।

नाँचमा सातको बिशेषता
यो नाँचमा सातको बिशेष महत्व हुन्छ । नाँचमा सहभागि सात पात्र , सात वाद्यवादन , सातवटा चर्या गीत र सातवटै डबलीमा प्रर्दशनी हुन्छ ।

सातजना पात्र तीमध्ये देवी कुमारी प्रमुख हुन् भने भैरव, चण्डी, दैत्य, कवं (अस्थिपंजर), बेताः र ख्याक अरु पात्र हुन् । नाचमा सातवटै वाद्यवादन बजाइन्छ भने सातवटै चर्या गीत गाइन्छ । प्रत्येक पात्रका लागि अलगअलग वाद्यवादन र अलग अलग धुनका गीत व्यवस्था गरिएको हुन्छ ।

 नाच, गीत र बाजा सिकाउन एक मूल गुरुअन्तर्गत अरू सातजना नै गुरुको व्यवस्था गरिएको हुन्छ ।  यो नाचमा बिभिन्न देवीदेवता पात्रहरू, गायक, वाद्यवादक र अरू सहयोगी आदि सबै मिलाउँदा ६४ जनाको टोली हुन्छ । इन्द्रजात्रा सुरु हुनुभन्दा करिब डेढ महिना अघिदेखि यसको तयारी हुन्छ ।

किबंदन्ती अनुसार एक दैत्य नगरमा आक्रमण गर्न आइपुग्दा उसलाई भगाउन भैरव अघि सर्दा  परास्त हुन्छ त्यसपछि कुमारी आइपुग्छ । कुमारी र दैत्यबीच युद्ध चल्छ । कुमारीले दैत्यलाई ढालेर राज्य बचाउँछिन् ।

पहिला पहिला यो नाच निरन्तर सात घण्टासम्म दैनीक प्रर्दशनी हुने भएपनि अहिले कम हुदै गएको छ । लिच्छवी राजा गुणकामदेवले कान्तिपुर नगर निर्माण गरेपछि नगरको रक्षा गर्न श्री कुमारीलाई नगर परिक्रमा गराउने थिति बसालेको विश्वास गरिन्छ ।

 आफूले निर्माण गरेको नगरलाई कुनै बाह्य तत्त्वले आक्रमण गरे श्री कुमारीले रक्षा गर्ने भाव अभिव्यक्त गर्न यो नाच सुरु गरिएको मानिन्छ ।

काठमाडौंको भित्री सहरको चार कुनामा यो नाचमात्र देखाउन चारवटा ठूलठूला सार्वजनिक डबली निर्माण गरिएका छन् । जैशीदेवल (न्हूघः डबली), नरदेवी (किलाघः डबली), बांगेमुढा (नःघः डबली) र इन्द्रचोक (वंघः डबली) ।

 लिच्छवीकालमा काठमाडौं राज्यको साँधसीमा छुट्याउन नगरका विभिन्न कुनामा ढुंगाका घडाहरू स्थापना गरिएको थियो । तिनै घः (घडा) का नामबाट अहिले उक्त टोलकै नामकरण हुन गएको छ ।

कुमारीको रथ जता देवी नाच पनि उतै
हरेक इन्द्रजात्राका बेला कुमारीको रथलाई काठमाडौंको यही चारवटा डबली भएको ठाउँबाटै तानेर नगर परिक्रमा गराइन्छ । पहिलो दिन कुमारीको रथ काठमाडौंको तल्लो भाग जैसीदेवलतिर तानिन्छ । त्यो दिन जैसीदेवल कै न्हूघः डबलीमा देवी नाच देखाइन्छ ।

 दोस्रो दिन काठमाडौंको माथिल्लो भाग अर्थात् बांगेमुढा, असन र इनद्रचोकतिर तानिन्छ । त्यो दिन बांगेमुढा र इनद्य्रचोकको डबलीमा नाच देखाइन्छ । तेस्रो दिन माथिल्लो भागकै किलाघलतिर रथ तानिन्छ भने त्यो दिन किलाघः डबली मै नाच देखाइन्छ । कुमारीको रथ तानेर ल्याउँदा डबलीका अगाडि रथलाई एक छिन रोकेर जीवित देवी कुमारीलाई उक्त नाच नजर गराउने चलन छ ।

जयप्रकाश मल्लले हेरेको अन्तिम नाच
विक्रम संवत् १८२५ सालमा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा काठमाडौंका राजा जयप्रकाश मल्ल यो देवी नाच हेरिरहेका थिए ।

राजा जयप्रकाश मल्ल कुमारीको रथमा आफैं सवार थिए । वसन्तपुरबाट तानिएको श्रीकुमारीको रथ काठमाडौंको तल्लो नगर न्हूघल (जैसीदेवल) पुगिसकेको थियो । न्हूघलस्थित सार्वजनिक डबलीमा उक्त नाच चलिरहेको बेला जयप्रकाश मल्ललाई वसन्तपुर दरबार गोर्खाली राजाको कब्जामा गइसकेको खबर आयो । त्यसपछि राजा जयप्रकाश मल्ल हेर्दाहेर्दैको नाच छोडेर उतैबाट पाटनतिर भागे । त्यसैले यो उनले हेरेको इन्द्रजात्राको अन्तिम नाच थियो ।

पुथ्वीनारायण शाहले काठमाडौं कब्जागरेपनि  इन्द्रजात्रा र यससंग जोडिएका कुनै पनि पर्वलाई नरोकेकाले पनि यो जात्रा निरन्तर चलेको संस्कृतिबिदहरुको भनाइ छ ।

बासनादार फूल पाउनै गाहे
यो नाच निकाल्दा देवीहरूको मुकुटमा विभिन्न किसिमका वासनादार फूलहरू पनि सिउरिएका हुन्छन् । यस्तो फूल अरू नाचमा प्रयोग भएको पाइँदैन । यस्ता फूलहरू अहिले काठमाडौंमा पाउन पनि गाह्रो भइसकेको छ ।

यो नाचमा नृत्य गर्न आउने भैरवले  कम्मरमा बाघको छाला बेरेका हुन्छन् । हरेक १० वर्षमा यो छाला फेरेर नयाँ लगाउने चलन छ ।
हरेक वर्ष ६४ जनाको टोलीलाई डेढ महिनासम्म रिहर्सलका लागि आबश्यक बजेटको अभाव हुने गरेको छ ।  देवी नाच हरेक वर्ष निकालिने भए पनि प्रत्येक १० वर्षमा यसको सम्पूर्ण भेषभूषा नयाँ फेर्नुपर्छ ।

२०७३ सालमा यो नाच १० वर्षे बिशेष उत्सवका साथ मनाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ