बझाङ। ईन्द्र जात्राको दिन खप्तड छान्ना गाँउपालिकाको पाटादेबलमा लाग्ने सात नम्बर प्रदेशको एक प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक शैनडाडा मेलाको रौनक छाएको छ । स्थानीय बासीहरुले शैनडाडा मेलालाई भव्य, शव्य र व्यवस्थित बनाउन बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउन तयारी गरेसंगै यस क्षेत्रमा उत्साह छाएको हो ।
सुदुरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य खप्तडको खापर दह (खप्तड ताल)बाट डोला ल्याई पाटादेबलको खापरमाण्डौमा भव्यताका साथ मनाईने मेला ईन्द्र जात्राका दिन लाग्ने गर्दछ । ईन्द जात्रा भन्दा अघिल्लो पूर्णिमाका दिन खप्तड ताल नजिकै रहेको खापर देबताको मन्दिरमा पुजा आजा गरि यो जात्राको प्रारम्भ भएको मानिन्छ । जसलाई स्थानीय भाषामा उकालु भन्ने चलन छ ।
त्यसको एक महिनापछि स्थानीय धामी झाक्रीहरुले, पुजारी, खापरका करियाँहरु र खापरको घोडा समेत लिएर खप्तडको ताल नजिकैमा रहेको खापर मन्दिरमा रात भर जाग्राम बसी पुजाआजा गरि बिहान देबता (महारानी) लाई बिहे गरि डोलीमा चडाई खप्तड छान्ना गाँउपालिका ६ मा पर्ने पाटादेबलमा रहेको खापर माण्डौमा भित्र्याई धुमधाम संग मेला मनाउने चलन छ ।
मेलाको अवसरमा स्थानीय बासी्हरुले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने तयारी गरेका छन् । मेलामा स्थानीय झाकीहरु , सास्कृतिक कार्यक्रम , देउडा प्रतियोगिता , जिल्ला स्थरिय खुल्ला भलिबल प्रतियोगिता गरिने मेला ब्यबस्थापन समितीका संयोजक तिलक खड्काले बताए । उनले भने 'यो मेलाको साँस्कृतिक महत्व रुपम एकदमै महत्व बोकेको मेला भएकाले मेलालाई व्यवस्थित गर्न जाँडरक्सी समेत पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।'
मेलालाई व्यवस्थित बनाउन स्थानीय संघ, संस्थाहरुले बिभिन्न कार्यक्रमहरु , सड्क नाटक , सचेतना र्याली , समेतको आयोजना गरिएको छ । सुदुरश्चिममा पछिल्लो समय लोप हुन लागेको देउडा सस्कृती लाई जगेर्ना गर्न बृहत देउडा कार्यक्रमको समेत आयोजना हुने भएको छ ।
मेला भर्न बझाङ, बाजुरा , अछाम र डोटी बाट समेत हजारौको सख्यामा श्रदालु भक्तजनहरु आउने गर्दछन् । मेला ८ गते देखि ११ बजे सम्म चल्ने छ ।