कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ घटेका छन् । सन २०१७ शुक्लाफाँटा निकुञ्जमा १७ वयस्क बाघ थिए । ‘एक बर्षपछि एक’ बाघको संख्या घटेको छ ।
सन २०१८ को राष्ट्रिय बाघ गणना अनुसार शुक्लाफाँटामा १६ मात्रै वयस्क बाघ भेटिएका छन् । शुक्लाफाँटा निकुञ्जले आफ्नो रेकर्डमा अघिल्लो बर्ष १७ बाघ भएको तथ्याङ्क राखेको छ । तर, राष्ट्रिय बाघ गणना अनुसार अघिल्लो राष्ट्रिय गणना अनुसार बढ्नुको साटो गत बर्षभन्दा यसबर्ष एक संख्यामा बाघ घटेको पाईन्छ ।
शुक्लाफाँटामा गरिएको राष्ट्रिय बाघ गणना अनुसार सन २००९ मा १० र ०१३ मा १७ बाघ भेटिएका थिए । राष्ट्रिय गणना अनुसार बाघको संख्या दोब्बर अथवा उल्लेख बृद्धि हुनुपर्ने भएपनि सन २०१८ मा शुक्लाफाँटामा बाघको संख्या न दोब्बर भएको छ, न बढेको छ । शुक्लामा प्रर्याप्त आहारा प्रजातिको घनत्व हुँदा पनि बाघको संख्या बढ्न नसक्नु आश्चर्यजनक देखिन्छ ।
शुक्लाफाँटाको भन्दा पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व निकै कम भएपनि त्यहाँ बाघको संख्या बढेको पाईन्छ । पर्सामा २२.०१, बाँके निकुञ्जमा ८.१० र शुक्लाफाँटामा ६८.०४ आहारा प्रजातिको घनत्व छ । तर, शुक्लाफाँटामा पर्सा र बाँकेको तुलानामा निकै बढि आहारा प्रजातिको घनत्व हुँदा पनि बाघको संख्यामा भने दुवै निकुञ्ज भन्दा कम पाईएको छ ।
पर्सामा १८ र बाँकेमा २१ बाघको संख्या पाईएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन २०१३ को नतिजाको तुलनामा सन २०१८मा १९ प्रतिशतले नेपालमा बाघको संख्या बढेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले गत बर्ष निकुञ्जले गरेको गणना भन्दा एकमात्रै बाघको संख्यामा कमि आएको बताए ।
‘गत बर्ष शुक्लाफाँटा निकुञ्जले आफैले बाघ गणना थियो, ‘उनले भने, ‘राष्ट्रिय गणना अनुसार निकुञ्जमा एक संख्यामा बाघको कमि आएको छ ।’ प्रमुख संरक्षण अधिकृत घिमिरेले सन २००९ देखि यता ०१८ को राष्ट्रिय गणना अनुसार शुक्लाफाँटाका बाघको संख्यामा कमि नआएको बताउदै सन २०१७ मा निकुञ्जले आन्तरिक गणना गरे अनुसार १७ बाघ फेला परेको बताए ।
प्राकृतिक र झण्डै १२ किलोमिटर दुरीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भारतको लग्गाभग्गा संरक्षित क्षेत्र संग जोडिएकाले गणनाको समयमा नेपालका बागको त्यतातिर मुभमेन्ट बढ्दा संख्या घटेको हुनसक्ने बताए । ९ थाले र ६ पोथिको संख्यामा बाघ हुँदा समेत संख्याका बढोत्तरी नआएको उनको तर्क छ ।
‘पोथि बाघको तुलनाका थाले बढि छन, ‘प्रमुख संरक्षण अधिकृत घिमिरले भने, ‘भाले र पोथिको संख्यामा समेत प्रजननको विषयमा सफलता मिलेको छैन् ।’ यस्तै ४ जेठ ०७४ मा एक पोथि र १५ चैत्र ०७३ दुई बाघका बच्चा मृत अवस्थामा फेला गरेको प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए । ‘पोथि लडाईमा मरेको फेला पारेका थियौँ, ‘उनले भने, ‘त्यही पोथिका बच्चा कुहिएर मरेको अवस्थामा फेला पारे तीन त यस्तै घटिहाले ।’
शुक्लाफाँटमा राष्ट्रिय गणना अनुसार पनि बाघको संख्यामा दोब्बर बृद्धि हुन नसक्दा संरक्षणकर्मी चिन्तित भएका छन् । एक थाले बाघका लागि ४० देखि ६० किलोमिटर क्षेत्रफल चाहिन्छ । विस २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरिएको शुक्लाफाँटा विस ०३२ मा वन्यजन्तु आरक्ष र ०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो । शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस पटक बाग गणनाका लागि क्षेत्र समेत विस्तार गरेको थियो, तै पनि बाघको संख्यामा बृद्धि भएन् ।
शुक्लाफाँटा–लालझाडी–जोगबुढा, मध्यवर्ती क्षेत्र,ब्रम्हदेब लालझाडी जैविक मार्ग करिडोर तथा आसपासका क्षेत्रलाई १ ब्लकमा राखि क्यामेरा ट्रापिङ्ग प्रविधिबाट बाघ गणना गरिएको थियो ।
शुक्लाफाँटा–लालझाडी र जोगबुढामा पर्ने शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा ९५ ग्रिड, निकुञ्जको मध्यवर्तिमा १४ ग्रिड, ब्रम्हदेब लालझाठी र जोगबुढा क्षेत्रमा १५१ ग्रिड गरि कुल २६० ग्रिड र ५८ ट्रान्जेष्क क्यामेरा ट्रापिङ्ग प्रविधिबाट बाघ तथा आहारा प्रजातिको गणना र २६० ग्रिड अन्र्तरगत कुल ५२० क्यामेरा मार्फत बाघ गणना गरिएको थियो । ११ समुहका ९० जनाको जनशक्ति प्रयोग भएका थिए ।
बाघको फोटो खिच्नका लागि प्रयोग हुने स्वचालित क्यामेरा, सन्टो कम्पास, रेन्ज, फाईण्डर र जिपिएस उपकरण रेकर्ड गरियो । बाघ गणनका लागि २२ दिन लगाएका थिए ।