नेकपामा जिल्ला तहको एकीकरण गर्ने जिम्मा प्रदेशलाई, ओली प्रचण्डको विशेष चिठ्ठी
प्रकाशित २०७५ असोज ७ आइतबार
307
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले जिल्ला तहको एकीकरण गर्ने जिम्मा प्रदेश इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवलाई दिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विशेष चिठ्ठी लेख्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म उनीहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएका हुन् ।
प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिसका आधारमा आफ्नो मातहत रहेका जिल्ला कमिटी एकीकरण गर्नुपर्ने चिठ्ठीमा भनिएको छ ।
यस्तै, सम्बन्धित तहका पूर्ण कमिटी र तिनका पदाधिकारी तथा सदस्यसँगको परामर्श र सुझावका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण गर्ने, आफ्नो तह र मातहतका पार्टी कार्यलयहरुलाई एकीकृत गर्ने र नियमति एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने, आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने चिठ्ठीमा उल्लेख छ ।
पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने र केन्द्रीय सचिवालयमा बुझाउन, प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्न तथा सञ्चालन गर्न, प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न, ती निकायसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टी शक्तिलाई परिचालन गर्न र कार्यसम्पादन गर्दा नीतिगत वा व्यावहारिकरुपमा कुनै कठिनाइ उत्पन्न भएकमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्न पनि भनिएको छ ।
पार्टी केन्द्रबाट चाँडै प्रवेश कमिटीका सदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुका सम्बन्धमा पूर्व निर्धारित मापदण्डका साथै थप मापदण्डसमेत पठाइने उल्लेख छ । शुक्रबार मात्रै पार्टी सचिवालय बैठकले सातवटै प्रदेशमा प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको थियो ।