सरकारले अपराधी चिन्न नसकेको भन्दै गुल्मीमा महिला संघको जनप्रदर्शन
रमेश वि.क.,
प्रकाशित २०७५ असोज ७ आइतबार
301
Shares
गुल्मी । ‘‘निर्मलाका निम्ति न्याय’’ लेखिएको ब्यानर बोकेर नेपाल महिला संघ गुल्मीको नेतृत्वमा गुल्मीबासीहरुले जनप्रदर्शन गरेका छन् ।
निर्मलालगायत देशका विभिन्न स्थानहरुमा महिला चेलीबेटीहरुको सुरक्षा सरकारले दिन नसकेको भन्दै सरकारको ध्यानकार्षण गराउन नेपाल महिला संघ, गुल्मीको नेतृत्वमा हजार बढी गुल्मीबासीको विशाल जनप्रदर्शनले ‘यौन दुराचार बन्द गर’, ‘सरकार मुर्दाबाद’, ‘महिला हिंसा अन्त्य गर’, ‘शान्ति सुव्यवस्था कायम गर’, ‘बालबालिकाको सुरक्षा गर’, ‘अपराधीलाई राजनीतिक संरक्षण बन्द गर’, लेखिएको प्लेकार्ड बोकेर चर्का नाराहरु लगाउँदै तम्घास बजार परिक्रमा गरेको थियो ।
बजार परिक्रमा गरीसकेपछि नगरबासीको प्रतिनिधित्व गर्दै नेमसं गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डेले ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रमलाई बुझाएको थियो ।
कञ्चनपुरकी निर्मलाको आफ्नै देश, आफ्नै गाउँ, घर आँगनमा बलात्कृत र हत्या भएको लामो समय बितिसक्दा समेत सरकारले अपराधी चिन्न र कानुनको कठघरामा ल्याउन नसकेको विरुद्ध असोज ७ गते आज प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, गुल्मी मार्फत प्रधानमन्त्रीलाई नेपाल महिला संघले ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्रमा अपराधीलाई कार्वाही गर्ने, जनताको जिउधनको सुरक्षाको प्रत्याभूति दिने राज्यको दायित्व हो तर विगत केही समयदेखि सुरक्षाको प्रत्याभूति दिन त परै जाओस् , कञ्चनपुर लगायत देशका विभिन्न ठाउँहरुमा भएका अपराधिक घटनातर्फ सरकारको ध्यानसमेत जान नसक्नु विडम्बना भएको भनिएको छ ।
नेपाल महिला संघ, गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा कञ्चनपुर लगायत देशको विभिन्न स्थानहरुमा घटेका दर्जनौं बलात्कार र हत्या जस्ता घटनाहरुको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कार्वाही र निर्मला लगायत अन्य सबै पीडित र पीडितका परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दिन सरकारको ध्यानाकर्षण गराएको उल्लेख छ ।