निर्मला हत्या प्रकरण : छानविन समितिले दोषीको क्लू'सहित पूर्ण प्रतिवेदन बुझायो
प्रकाशित २०७५ असोज ९ मंगलबार
319
Shares
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले पूर्ण प्रतिवेदन बुझाएको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले गृहमन्त्री रामबहादुर थापालाई नै भेटेर प्रतिवेदन बुझाएको हो ।
यसअघि यही समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा दुई डिएसपीसहित पाँच प्रहरी निलम्बनमा परेका थिए ।
समिति सदस्य वीरेन्द्रबहादुर केसीले प्रतिवेदनमा अनुसन्धानमा भएका त्रुटीदेखि निर्मला हत्याका दोषीको क्लूसम्म दिइएको बताए । तर, उनले प्रतिवेदनले ल्याएको खास कुरा र निचोड अहिल्यै भन्न मिल्दैन भने । उनले भनेका छन्, ‘प्रतिवेदनमा अनुसन्धामा भएका गल्ती र दोषीको क्लू लगायत सबै छ । तर, हामीले भन्न मिल्दैन । सरकारले सार्वजनिक गर्छ वा तपाईहरु आफैले माग्नु होला । ’
समितिले गृहमन्त्री थापाकै कै हातमा प्रतिवेदन थमाए पनि सञ्चारकर्मीहरुलाई प्रतिवेदनको राम्ररी तस्वीर खिच्न समेत दिइएन ।
गएको साउन १० साथीको घरमा पढ्न भनेर गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।
प्रहरीले छानविनमा लापरवाही गरेको तथा प्रमाण नष्ट गरेको भन्दै स्थानीयले आन्दोलन चर्काएपछि कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका मैनालीको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने घाइते मध्ये दुई जनाको अवस्था अहिलेपनि निकै जटिल छ ।