६ लाख १० हजार भारतीय रुपैयाँसहित श्रेष्ठ र मियाँ पक्राउ
बिजय चौहान,
प्रकाशित २०७५ असोज ११ बिहिबार
240
Shares
वीरगन्ज। अवैध ६ लाख १० हजार भारतीय रुपैयाँसहित पक्राउ परेका दुई जना व्यक्तिलाई बुधबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । वीरगन्जको विभिन्न स्थानबाट एक हजार २२० थान भारतीय पाँच सयको नोटसहित पक्राउ परेका वीरगन्ज ६ कुम्हाल टोल निवासी लालबाबु मियाँ र सुर्यमान श्रेष्ठलाई प्रहरीले सार्वजनिक गरेको हो ।
वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने क्रममा संकालागि शंकराचार्यद्वार नजिकै मियाँलाई रोकी चेक जाँच गर्दा स्रोत खुलाउन नसकेको ४ लाख भारु बरामद भएपछि उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । त्यसै वीरगन्जको विर्ता स्थित सडकबाट २ लाख १० हजार भारु सहित श्रेष्ठलाई नियन्त्रणमा लिइएको उपरिक्षक ढकालले बताए ।
प्रहरीले बरामद गरेका मुद्राको मियाँ र श्रेष्ठले श्रोत खुलाउन नसकेपछि रुपैयासहित दुवै जनालाई नियन्त्रणमा लिइएको उपरिक्षक ढकालले जानकारी दिए । चेक जाँचका क्रममा श्रेष्ठको साथबाट विभिन्न बैंकाका २२ थान एटिएम कार्ड बरामद भएको प्रहरीले बताएको छ ।
प्रहरी नियन्त्रणमा रहेका मियाँ र श्रेष्ठलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमाण्डौ पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।