arrow

नेपालले दिएको एकसिंगे गैंडा चीनको सांघाईमा

logo
अजय अलौकिक
प्रकाशित २०७५ असोज ११ बिहिबार
rhino-china.jpg

पैचिङ। नेपालले उपहारस्वरूप चीनलाई दिएको एकसिंगे गैंडाको सेप्टम्बर २६ तारिख बुधबार सांघाईमा सार्वजनिकीकरण गरिएको छ। सोही अवसरमा एकसिंगे गैडा संरक्षणका लागि नेपाल र चीनबीच सहयोग अनुसन्धान सम्बन्धी संस्था ‘नेपाल-चाइना रिसर्च को-अपरेसन अन राइनो प्रोटेक्सन’ को पनि शुभारम्भ गरिएको छ ।

पैचिङस्थित चीनका लागि नेपाली दूतावासका अनुसार, नेपालले चीनलाई दिएका दुई जोडी गैंडामध्ये एकजोडी गत भदौ २ गते नै चीनलाई दिइएको थियो। पहिलो पटक लगिएका एक जोडी गैंडा क्वाङ्चौको चेमेलोङ् सफारी पार्कमा राखिएका छन्। मितिनी र सोल्टी नाम गरेका एक जोडी गैंडा भने शाङहाई वन्यजन्तु चिडियाखानामा राखिने छन् ।

उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका उप-निर्देशक ली छुनलियाङ, शाङ्हाइ नगरपालिकाका प्रतिनिधि लगायतकाको सहभागी थियो।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत पौडेलले प्रकृतिको सम्पदा एकसिंगे गैंडाको संरक्षणका लागि यो एउटा अग्रणी पहल भएको बताउँदै अन्य वन्यजन्तु संरक्षणमा पनि आपसी सहकार्यमा योगदान गर्नसक्ने औंल्याए। उनले भने, ‘दुई जोडी गैंडा चीन सरकारलाई हस्तान्तरण गरिएबाट अन्त्यहीन तथा अपरिवर्तनीय मित्रताको पर्याय बन्नेछन्। शाङ्हाइमा नेपाल-चीन सम्बन्धको उदाहरण प्रस्तुत गर्नेछन्। नेपाल-चीन सम्बन्धमा बलिया सांस्कृतिक तथा जनस्तरीय सम्बन्धका सेतु बन्नेछन्।’

चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका उप-निर्देशक ली छुनलियाङले दुर्लभ गैंडा चीनलाई उपहार स्वरूप दिएबाट दुई देश र जनताबीचको मैत्रिवत् आदानप्रदानमा नयाँ पुल बनेको बताए। उनले चीन सरकार लोपोन्मुख तथा दुर्लभ जनावर र वनस्पतिको संरक्षणका लागि प्रतिबद्ध रहेको र यसका लागि उचित कानूनी प्रणालीको स्थापनासहित कार्यान्वयन गरिरहेको पनि बताए।

कार्यक्रममा सहभागी अरू चिनियाँहरूले अनुसन्धानको यो सहकार्यबाट दुर्लभ एकसिंगै गैंडा मात्रै नभएर अन्य वन्यजन्तुको संरक्षणका अनुभवहरू पनि आदान प्रदान गर्न सकिने बताए ।

एकसिंगे गैंडा दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियामा पाइन्छन्। तर यिनीहरूको संख्या घट्दै गएर २ हजारको हाराहारीमा छ। नेपालको चितवन राष्ट्रिय निकुञ्जमा ६ सयको हाराहारीमा गैंडाहरू रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ