काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई अमेरिकामा सकस भएको छ । १७ हजार भन्दा बढी नेपाली मारेर सत्तामा आएको तत्कालीन माओवादीबाट बाबुरामले अहिले माओवादी नै छाडेर अर्को पार्टी खोलेबाटै सशस्त्र द्धन्द्ध गलत थियो भन्ने प्रमाणित भएको भन्दै अमेरिकामा बसेका नेपालीहरुले विरोध गरेका हुन् ।
डा बाबुराम धर्मपत्नी हिसिला यमीसहित अमेरिका भ्रमणमा छन् । उनी अमेरिका पुगेदेखि नै विभिन्न समूहले बाबुरामलाई कालो झण्डा देखाउँदै विरोध गरेका छन् ।
बाबुरामले पाप गरेको उनीहरुको निष्कर्ष छ । एसी डेभिजमा भएको कार्यक्रममा त्यहाँ बसेका नेपालीहरुले बाबुरामको विरोध गरेका हुन् ।
हामी न्याय चाहन्छौं भन्दै हत्यारो बाबुराम अमेरिका छोड् भनेका छन् । नारा लगाउने क्रममा उनीहरुले ‘वि वान्ट जस्टिस’ भनेका छन् । उनीहरुले ‘कम्युनिष्ट शासन चाहिँदैन, नेपालमा शासन गर्न पाइँदैन’ भनेका छन् ।
सामाजिक संजालमा समेत बाबुराम भट्टराईको अमेरिका भ्रमणको चर्को विरोध भएको छ । गम्भीर मानवअधिकारको उल्लंघन गर्नेहरुविरुद्ध विरोध गरेको उनीहरुले बताएका छन् ।
यसअघि पनि अमेरिकाका विभिन्न ठाउँमा उनीविरुद्ध कालोझण्डा देखाएका थिए ।
एक जनाले सामाजिक संजालमा लेखेका छन्, ‘पाप धुरीबाट कराउँछ भनेको यही हो, आज मलाई भोलि तलाईं, कुनै समय स्व राजा श्री ५ वीरेन्द्र भारतको डिल्ली भ्रमणमा सवारी हुँदा बिरे चोर देश छोड् भन्दै राजालाई कालो झण्डा देखाउने यिनै बाबुराम भट्टराई हुन् तर आज तिनै बाबुरामको जनयुद्धकालमा परिवारका आफ्ना सदस्य गुमाएर बिदेशिन बाध्य भएका नेपालीहरुद्धारा अमेरिका भ्रमणमा गएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कालो झण्डासहित भब्य स्वागत गर्दै ।’