इन्द्रजात्राको अन्तिम दिन : कुमारी भैरब र गणेशको तीनै रथ महिला तान्दै
३२ हात अग्लो लिंगो विधिपुर्वक ढालिदै
प्रकाशित २०७५ असोज १२ शुक्रबार
682
Shares
काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन शुक्रबार कुमारी भैरब र गणेशको तीनै रथलाई महिलाहरुले मात्रै तान्दै छन् ।इन्द्रजात्रामा तीन दिन रथ तान्ने गरेकोमा पहिलो दिन तल्लो टोलमा, दोस्रो दिन माथिल्लो टोलमा र अन्तिम दिन नानिचायाः भन्दै बिचको टोलमा रथ तान्ने गरिन्छ ।
असोज १२ गते शुक्रवार भने नानिचाः याः भन्दै बीचको टोलमा महिलाले मात्रै रथतान्ने परम्परा छ । महिलाहरुले अन्तिम दिन रथलाई कुमारी घर बाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुदै फेरि वसन्तपुर पुरयाएर रथ यात्रा समापन गरिन्छ। रथ तान्नका लागि महिलाहरुले एक साताअघिदेखि बिहानमा दौडने अभ्यास गर्दै आएका छन।
रथ तान्दा भिडभाड नहोस भन्नाका लागि रथ तान्ने महिला र स्वंयसेवीहरुका लागि इन्द्रजात्रा व्यवस्थापन समितिले ३ सयलाई टिसर्ट र पासको व्यवस्था गरेको छ। २०६९ सालबाट मात्रै महिलाहरुलाई रथ तान्न दिइएको थियो । महिलाहरुले रथ तान्नु ऐतिहासिक घटना भएपनि नेवार समुदायमा महिलाहरुलाई हरेक धार्मिक सास्कृतिक कार्य र विभिन्न सस्कारमा विशेष प्राथमिकता दिइएको संस्कृतिविदहरुको भनाई छ ।
परापुर्वकालदेखि पाटनको रातो मच्छिन्द्रनाथको रथ महिलाहरुले प्रत्येक वर्ष एकदिन तान्ने गरेपनि काठमाडौंकेो कुमारी गणेश र भैरबको रथ भने ६ वर्ष अघिदेखि मात्रै महिलाहरुलाई तान्न दिइएको हो । रथ यात्रासँगै मजिपाः लाखे, किलागलको पुलुंकिसि, सवः भक्कु लगायत विभिन्न नाच पनि वसन्तपुर क्षेत्रमा देखाइएको छ । रथ यात्रा का क्रममा मृतकको सम्झनामा कुमारी रथयात्राको बाटो हुदै ’बौमत’ र ’दागीं’ ले नगर परिक्रमा गराइएको थियो ।
३२ हात अग्लो लिंगो विधिपुर्वक ढालिदै
यसैबिच, एकसाता लामो इन्द्रजात्राको अन्तिम दिन भक्तपुरको नालाबाट ल्याइ हनुमानढोकामा ठड्याइएको यसी अर्थात लिंगो ढालेर विधिवत रुपमा समापन गरिदैछ ।
इन्द्रध्वज पतन गर्ने भन्दै ३२ हात लामो लिंगोलाई शुक्रबारराति १० बजेर २७ मिनेटमा इन्द्रध्वजपतन अर्थात् लिङ्गो ढाल्ने साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याइएको थियो । लिंगो ढालेपछि आजै राति टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत रुपमा सकिन्छ।