arrow

पाल्पामा टिपरको गति नियन्त्रणका लागि टाईम कार्ड

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज १२ शुक्रबार
tifar-2_(1).jpg

पाल्पा । टिपरको अत्याधिक गति नियन्त्रणका लागि जिल्लामा टिपर टाईम कार्ड लागु भएको छ । टिपरको अत्याधिक गतिका कारण जिल्लामा दिनहुँ दुर्घटना बढ्दै गएपछि दुर्घटना न्युनिकरणका लागि टिपर टाईम कार्ड लागु गरिएको हो ।  टिपर चालकहरुले ट्रिप अनुसारको ज्याला पाउने भएपछि आपसी प्रतिष्पर्धा र अत्याधिक गतिका कारण जिल्लामा दुर्घटना बढ्दै गएको जनगुनासो बढ्दै गएपछि टिपर टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लाका विभिन्न सडक तथा राजमार्गहरुमा  दैनिक रुपमा एक  हजार दुई  सय टिपरले चुनढुङ्गा ओसार पसार गर्दै आएका छन । जिल्लामा खानी क्षेत्र बढ्दै गएकाले टिपरको संख्या दिनहु बढ्दै गएको छ ।  राजमार्ग क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि  जिल्ला प्रहरी कार्यालय पाल्पाले ट्राफिक प्रहरीको सक्रियतामा तानसेन तम्घास सडक खण्डको हार्थोकदेखी तानसेन बुटवल खण्डको दोभान प्रहरी चौकी सम्म टिपर टाईम कार्ड लागु गरिएको हो । रैनादेवी छहरा गाउँपालिका वडा  १ सिद्धेश्वर क्षेत्रमा सञ्चालनमा  रहेको  सर्वोत्तम सिमेन्टको खानीबाट धुवानी गर्दै आएका टिपरहरुका लागि पहिलो चरणमा टिपर टाईम कार्ड लागु गरिएको छ  ।

हार्थाेकबाट दोभान सम्म ५० किलोमिटर दुरी २ घण्टा ३० मिनेट समयमा पुग्ने गरी टाईम कार्डको व्यवस्था गरिएको छ । हार्थाेकबाट टाईम कार्ड लिएका टिपरहरुले दोभान प्रहरी चौकीमा पुगेको समय टाईम लेखाउनु पर्ने छ । यही तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियम अनुसारको कारवाहीमा पर्ने छन् । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, ट्राफिक प्रहरी प्रमुख डम्वर गिरी लगायतले लु २ ख  २२६६ नम्वरको टिपरका चालक रामकुमार लामालाई टाईम कार्ड हस्तानतरण गरी अभियानको शुरुवात गरेका हुन् ।

प्रत्येक टिपर चालकहरुलाई एक÷ एक वटा टाईम कार्ड पुस्तिका वितरण गरिएको छ ।  टिपर कार्डलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि  जिल्ला प्रशासनको महत्वपूर्ण भूमिका रहने प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । हार्थाेक देखी दोभान सम्मको ५० किलोमिटर दुरी टिपर चालक सँगै बसेर यात्रा गरी २ घण्टा ३० मिनेट समय तय गरिएको प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताए । टिपर सँगै अन्य सार्वजनिक यातायातमा पनि टाइम कार्ड लागु गरिने प्रहरी उपरिक्षक पोखरेलले बताए ।

टाईम कार्डले तीव्र गतीलाई रोक्ने, दुर्घटनामा  कमी ल्याउने, यात्रुहरुलाई सडकमा सहज रुपमा यात्रा गर्न सजिलो बनाउने, अस्वस्थ प्रतिष्पर्धा हटाउने, टिपर व्यवसायलाई मर्यादित र व्यस्थित बनाउने, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्वर गिरीले बताए । टिपर व्यवसायी तथा चालकहरुले पनि टाइम कार्ड  अनुसार सवारी साधन सञ्चालन गर्ने बताएका छन् । टाइम कार्ड जिल्लाका सबै क्षेत्रमा लागु गर्नुपर्ने उनीहरुको भनाई रहेको छ । टिपर व्यवसायी चालक  लाई जताततैबाट असहयोग भएको विभिन्न बहानामा दुःख दिने काम भएको उनीहरुले बताएका छन ।

सरकारले खानी क्षेत्रमै धर्मकाटा राखिदिएमा आफुहरुले कहिल्यै ओभरलोड चुनढुङ्गा नवोक्ने अन्दाजको भरमा बोक्दा कहिले बढी कहिले कम हुने टिपर व्यबसायी अरविन्द्र  पाण्डेले बताए । रिव्दिकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले टिपर चालक, धनी र खानी व्यबस्थापक संग पटक पटक गाउँपालिकाले व्यवसाय व्यवस्थापनका विषयमा कुराकानीको परिणाम उपलब्धीमुलक बनेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ