प्रचण्डका पारिवारिक पात्र महेशले कांग्रेस छाड्नुलाई यसरी सोच्ने की ?
रघु दाहाल,
प्रकाशित २०७५ असोज १३ शनिबार
482
Shares
चितवन । नेपाली कांग्रेस नेतृत्वको सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त गरेका चितवन निवासी महेश दाहालले कांग्रेस परित्याग गरेको विषयले अहिले चितवनको राजनीति तातेको छ । त्यसमा पनि कांग्रेसका नेता कार्यकर्ताहरुले महेशप्रति आक्रोसको ज्वाला पोखेका छन् ।
जन्मजात नेपाली कांग्रेसको राजनीतिमा सक्रिय दाहाल जीवनको उत्तरार्धमा एकाएक ठिक विपरित धारको मानिने नेकपामा प्रवेश गरेपछि उनको आलोचना बढी भएको छ । तर नेकपामा जानु पर्ने बाध्यताका पछाडी कांग्रेस पनि कारक हो कि भन्ने तर्फ भने कम बहस भएको पाईन्छ ।
कांग्रेस जीवनको अन्त्यमा संस्थापकहरुले नै परित्याग गरेको पार्टी पनि हो । संस्थापक कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत धेरै शिर्ष नेताहरु पनि कांग्रेसबाट आजित भएका थिए । उनीहरुले किन परित्याग गरे र आगामी दिनमा त्यस्तो हुन नदिन के गर्नुपर्ला भन्ने तर्फ कहिल्यै छलफल र बहस भएको पाईदैन । अहिले महेशले परित्याग गरेपछि पनि ठ्याक्कै त्यस्तै भएको छ ।
जन्मजात कांग्रेस महेशले, नेपालमा मात्रै नभई विश्वभरी दर्जनौ कार्यक्रममा नेपाली कांग्रेस र लोकतन्त्रको पक्षमा व्याख्या दिएका छन् । कांग्रेसका अन्तर्राष्ट्रिय प्रचारकको भूमीका खेलेका दाहाल अहिले त्यसको विपक्षमा किन उभिन पुगे ? के यसमा उनि मात्रै कारक हो त ? यस तर्फ पनि बहस आवश्यक छ ।
हो उनलाई कांग्रेसले प्रशिक्षक बनायो, नेपाल टेलिभिजनको अध्यक्ष बनायो, अरु पनि केही अवसरहरु दियो होला । तर त्यो मात्रै पर्याप्त होईन । अवसरकालागि भन्दा पनि पार्टी र नेताले गर्ने व्यवहारले कार्यकर्तालाई पार्टीमै लाग्ने की छोड्ने भन्ने निर्णयमा पुर्याउछ । नेताहरुको विचार शुन्यता, बौद्धिक तथा निष्ठावान कार्यकर्ताको अवमुल्यान पनि पार्टी परित्याग गर्नुको अर्को कारण हो की भनेर कांग्रेसीले सोच्ने की नसोच्ने ?
कांग्रेसमा अवसर नपाएको र नेकपामा प्रवेश गरेपछि अवसर पाइन्छ भन्ने कुराले मात्रै पार्टी परिवर्तन गरेको नहुन सक्छ । पार्टीमा अवसर नभएपनि आड भरोसा, प्रतिष्ठा र भूमीका दिन सक्यो भने मान्छेहरु स्वयमसेवी भएर काम गर्न तयार लाखौँ कार्यकर्ता छन् । पार्टी भित्रै पनि जिम्मेबारी दिने हजारौ ठाउँहरु अहिले पनि खाली छन्, ती ठाउँमा जिम्मेबारी दिएर खटाए त कार्यकर्तामा निराशा हुदैन थियो, बरु कार्यकर्ता भुल्ने थिए, संगठन बढ्ने थियो । तै पनि किन अस्तव्यस्त र भद्रगोल छ संगठन ? यस तर्फ विचार गर्नु पर्दैन ? छोडेर जानेलाई गाली गरेर मात्रै पुग्छ ?
महेश दाहाल विकासवादी सचेतक निःस्वार्थी चिन्तक हन् । निषेधको राजनिति, जडसुत्रवाद, लुटतन्त्र र विज्ञान विनाको नेपाली कांग्रेसको राजनैति उनलाई मन परेन, अनि उनले नेका कांग्रेस परित्याग गरे। स्वच्छ आत्मा र बिज्ञानको विधि कहिल्यै सुक्दैन, सुस्ताउदैन । नदिको आफ्नै गति र महान गन्तव्य हुन्छ । नदिलाई अझ डाईनामिक र गतिशिल बनाउन धेरै खोलानाला बटुलेर महासागरमा आफ्नो स्वच्छ पानीको मिसनलाई सामुन्द्रिक ज्वारभाटमा परिणत गरेर आफ्नो शक्ति र सामर्थ देखाएरै छाड्दछ । त्यही समुद्रको खोजीमा हो महेश दाहालको अहिलेको यात्रा ।
छोडेर जाने त गइसके । संस्थापक र शिर्ष नेताहरुले छोड्दा पनि केही फरक नपरेको कांग्रेसलाई एउटा मध्यमस्तरको कार्यकर्ताले परित्याग गर्दैमा डराउनु पर्ने केही छैन । बरु डराउनु पर्ने त बुढी मरी भन्ने भन्दा पनि काल पल्यो की भनेर हो । नेपाल जेसिजका पुर्व अध्यक्ष दाहालले मात्रै होईन, अर्का पुर्व अध्यक्ष अनुपमान सैँजुले पनि केही समय अगाडी कांग्रेस परित्याग गरेका थिए ।
महेश र अनुप मात्रै होईन, यस्तै अवस्था रहेमा अरु धेरै महेशहरुले पनि पार्टी त्याग्लान की भन्ने तर्फ नेतृत्वले पटक्कै सोचेको पाइदैन । गत निर्वाचनमा पराजयपछि कांग्रेसमा व्यापक रुपान्तरण होला भन्ने आशा गरेका आम कार्यकर्तालाई नेतृत्वले पुरै उल्टो व्यवहार देखाएको छ । अर्थात् रुपान्तरण हुने कुनै छाँटकाट देखिएको छैन । अनि आशा गर्ने ठाँउ नभएपछि संभावनाको खोजी गर्ने मानवीय स्वभाव अनुसार महेशहरुले परित्याग गर्नुलाई अस्वभाविक मान्न मिल्दैन ।
अहिले चितवनमा महेशलाई गाली गर्नेको ताँती जति छ स्वागत गर्नेहरुको वेवास्ता पनि उत्तिकै छ । अझ भनौ नेकपा भित्र पनि उनी आएपछि आफ्नो भाग खोसीले आशंका गर्नेहरु कम छैनन् । धेरै मान्छे नेकपाका खुशी छैनन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पारिवारिक पात्र र बौद्धिक तथा चतुर व्यक्तित्व भएकाले पनि उनले पार्टीमा राम्रै प्रभाव पार्छन् भन्ने नेकपाको बाहिर घेराका कार्यकर्ताहरुको चिन्ता छ ।
तर परिवारवादको आरोपमा परेर पाउने अवसर पनि नपाउनेगरी चेपुवामा पर्ने खतरा पनि उत्तिकै छ । यही झिनो सभावनाकाबीच महेशको पार्टी परिवर्तनलाई फगत गालीको विषय बनाउनु भन्दा कांग्रेस भित्रै मिहिन ढंगले समिक्षा र पुनर्विचार गर्ने अवसरका रुपमा लिनु बुद्धिमानी होला ।