कञ्चनपुरमा चर्किदै आन्दोलन, छानविन समितिमाथि नै शंका
प्रकाशित २०७५ असोज १४ आइतबार
186
Shares
काठमाडौं । निर्मला हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिकको माग राख्दै कञ्चनपुरबासिन्दा फेरि आन्दोलित भएका छन् । निर्मलाको न्यायका लागि दवाबमूलक संघर्ष समिति बनाएर आन्दोलनरत महिला अधिकारकर्मी फेरि आन्दोलित भएका हुन् ।
कञ्चनपुरस्थित राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाजलगायतले दवाबमूलक संघर्ष समितिमार्फत आइतबारबाट संयुक्त रुपमा विरोध कार्यक्रम आयोजना गरेका छन् । निर्मलाको हत्या भएको दुई महिना कटिसकेपनि सरकारले अपराधी पहिचान नगरेकाले पुनः आन्दोलन थालेको अधिकारकर्मी मिना भण्डारीले बताइन् ।
छानविन समितिमाथि नै शंका
निर्मलाको बलात्कार पछि हत्या भएको ६६ दिन पुगेको छ । तर, अहिलेसम्म न हत्यारा पत्ता लागेको छ, न त उच्चस्तरीय छनविन समितिले बुझाएको प्रतिवेदन नै सरकारले सार्वजनिक गरेको छ ।
निर्मलाको घटनामा प्रहरीमाथि मात्रै होइन सरकारप्रति पनि स्थानीयको शंका छ । घटनाको अनुसन्धानमा प्रहरीबाट भएको त्रुटी र अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई कारबाहीको दायरामा नल्याइनुले पनि अपराधीको संरक्षणमा सरकार आफैँ लागेको अर्थ लगाइँदै छ । उच्चस्तरीय छानविन समिति महेन्द्रनगर पुगेकै दिन प्रहरीको गोलीबाट बालकको मृत्यु भएको थियो ।