arrow

अपाङ्गतामैत्री सङ्घसंस्थालाई ‘पहुँचयुक्तता सम्मान’

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
disable-awarded.jpg

काठमाडौं। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने विभिन्न सङ्घसंस्थालाई आज ‘पहुँचयुक्तता सम्मान’ प्रदान गरेको छ। महासङ्घले यहाँ आज भौतिक संरचना तथा सञ्चार सेवामा पहुँचयुक्तता प्रवद्र्धन एवं सुनिश्चितताका लागि काम गरिरहेका तथा अपाङ्गता भएका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने तीन सङ्घसंस्थालाई सो सम्मान दिएको हो।

महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले होटल हार्दिक बागबजार, चन्द्रागिरि हिल्स प्रालि चन्दागिरि र खेम्स क्लिनिङ कङ्लकीलाई सो सम्मान दिँदै अपाङ्गतामैत्री संरचनाका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

हार्दिक होटलका ३४ कोठामध्ये चार कोठा, एक शौचालय र छ सभाकक्षमध्ये तीन ह्विलचेयर प्रयोगकर्ताका लागि सहज भएको होटल सञ्चालक रमेश पाण्डेले जानकारी दिए। होटल तथा रेष्टुराँमध्ये अपाङ्तामैत्री संरचना भएको होटल हार्दिक पहिलो भएको सञ्चालक पाण्डेको जिकिर छ। त्यसैगरी खेम्स क्लिनिङ कङ्लकीले विमानस्थल, मठमन्दिरलगायत स्थानमा सरसफाइ गर्दै आएको छ।

चन्द्रागिरि हिल्स प्रालिले दृश्यावलोकनस्तम्भ, भालेश्वर मन्दिर, सभाकक्ष र शौचालयलगायत सम्पूर्ण संरचना अपाङ्तामैत्री बनाएको छ। भर्खरै लागू भएको अपाङ्ता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ मा पनि भवन निर्माण गर्दा अपाङ्तामैत्री हुनुपर्ने भनिएको छ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्ता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ जना छन्। यसमा शारीरिक अपाङ्ता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, न्यूनदृष्टियुक्त १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत छन्।

त्यसैगरी बोलाइसम्बन्धी अपाङ्ता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत छन्।

पछिल्लो समय अपाङ्ता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण गर्न केही प्रयास भए पनि निर्देशिका जारी भएको ६ वर्ष हुँदासमेत सबै प्रकारका अपाङ्गतता भएका व्यक्तिका आवश्यकतालाई सम्बोधन गर्ने गरी सार्वजनिक शौचालय, बसपार्क, यातायात सेवा र सूचना तथा सञ्चार प्रणाली पहुँचयुक्त बन्न सकेका छैनन्।

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यले विसं २०५० देखि क्रियाशील महासङ्घमा अपाङ्गता भएका व्यक्तिले सञ्चालन गर्दै आएका ३३१ गैरसरकारी संस्था आबद्ध छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ