काठमाडौं । प्रदेश नम्बर ७ को राजधानीको विषयलाई लिएर मुद्दा चर्किएको छ । बहुमतको आधारमा प्रतिपक्ष दलको बहिस्कारका बीच गोदावरी नगरपालिकाको तेघरी वन क्षेत्रलाई प्रदेश ७ को राजधानी बनाउने प्रदेशसभाले निर्णय गरेको थियो ।
सत्ताधारीहरुले दुई तिहाईको बलको आधारमा गरेको निर्णय उचित छैन भन्दै विपक्षी नेपाली काँग्रेसले धनगढीमा अनिश्चितकालीन आमहड्ताल नै आब्हान गरेको छ ।
यसअघि धनगढी अस्थायी राजधानी थियो । काँग्रेसले आइतबार प्रदेशसभा बैठक ठप्प नै पारेको थियो । काँग्रेसको आन्दोलन जारी छ ।
खासमा विज्ञहरुसमेत पनि तेहरीको जंगल मासेर राजधानी बनाउन नहुने तर्क गर्छन् । विज्ञहरूले वनसँगै जैविक मार्गसमेत मासिने खतरा रहेको बताउँछन् । उनीहरू वन क्षेत्र मासेर संरचना बनाउँदा धेरै सोचविचार र अध्ययन हुनुपर्ने बताउँछन् ।
वातावरणीय प्रभाव मूल्यांकन र चुरे फेदीमा पर्न सक्ने दीर्घकालीन प्रभाव अध्ययनबिनै यो निर्णय गरिएको थियो । हचुवाका तालमा गरिने निर्णयले वातावरणीय प्रभाव पर्नेमा दुई मत छैन ।
चुरेको फेदीमा भौतिक संरचना बनाउँदा निश्चित रूपमा वातावरणमा धेरै नै असर पर्ने विज्ञहरु बताउँछन् । तराई भूपरिधि कार्यक्रमले विश्व वन्यजन्तु कोषको सहयोगमा तेघरीमा जैविक विविधिता र वातावरणको संरक्षणबारे १४ वर्षदेखि काम गर्दै आएको छ ।
बाघ संरक्षणमा प्राप्त उपलब्धि जैविक मार्ग संरक्षणबाट सम्भव देखिन आउँछ । यो क्षेत्र बाघ ओहोरदोहोर गर्ने क्षेत्र हो ।
वातावरण नै ध्वस्त पार्ने गरी जैविक मार्गलाई कंक्रिटको सहर बनाउन खोजिएपछि अहिले वन विज्ञहरु पनि सक्रिय हुन थालेका छन् । भूपरिधि कार्यक्रमले त गम्भीर आपत्ति नै जनाउने बुझिएको छ ।
हचुवाको तालमा तेहरीलाई रोजिएको प्रमाण हो कैलाली जिल्लाको वन कार्यालय । वन कार्यालयलाई नेकपाको सरकारले तेहरीबारेमा बुझ्ने कष्टसमेत गरेन । दुई तिहाइ भएपछि सबै हुन्छ भन्ने मानसिकताले गाँजेको छ ।
होइन भने यस्तो ठाउँमा राजधानी तोक्नुपूर्व उचित छ कि छैन भनेर सोध्नुपर्ने थियो । वन कार्यालयका एक अधिकृतले भने – हामीलाई त केही जानकारी नै दिइएन ।
सर्वसाधारणले वनको एउटा रुख काट्दा अपराधी ठहरिन्छ । तर दुई तिहाइको सरकारले गलत उद्देश्यले वन काट्दा वाहीवाही हुने पक्कै हैन ।
चुरे फेदीको १ किलोमिटर क्षेत्रसम्म ढुंगासमेत संकलन गर्न नपाइने कानुन छ । तेघरी वन क्षेत्रमा ठूला बोट नभए पनि सात आठ दशकभित्र पूर्ण वयस्क हुने सालका पोथ्रा निकै छन् । विभिन्न जातका बोटविरुवा पनि छन् ।
दीर्घकालीन सोच विना नै तेहरी रोजिएको विज्ञहरुको आरोप छ । प्रदेश ७ का एक काँग्रेस सांसदले हाम्राकुरासंग भने, ‘सरकारसंग दुई तिहाइको समर्थन छ भन्दैमा धेरै उश्रृंखल गतिविधिहरु हुन थालेका छन् । प्रकृति नै ध्वस्त पार्ने संरचना बन्न खोज्दैछ, हामी यसलाई रोक्ने प्रयासमा छौं ।’
बाघ हिंड्ने बाटोबारे प्रश्न गर्दा उनले भने, ‘मान्छेलाई त टेर्नु भएन उहाँहरुले अब बाघकै बाटो छेक्न खोज्दै हुनुहुन्छ । दुई तिहाइले तेस्रो विश्वयुद्ध भए पनि जित्छौं भन्ने दम्भ पाल्नुभएको छ, हेरौं कहाँसम्म पुग्नुहुन्छ ।’