काठमाडौँ । सरकारले मासु उत्पादन हुने स्थानदेखि भान्सासम्मको नै नियमित अनुगमन गर्नुपर्नेमा मासु व्यवसायीले जोड दिएका छन् ।
पशु व्यवसायी सङ्घ र चौपाया खरिद बिक्री सेवा सङ्घले सोमबार यहाँ आयोजना गरेको ‘स्वच्छ मासु र चाडपर्व’ विषयको अन्तक्र्रिया कार्यक्रममा मासु व्यवसायीले सरकारले चाडबाडमा मात्र बजार अनुगमन नगरी नियमित अनुगमन गर्नुपर्ने बताएका हुन् ।
मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण रहने सहभागीले बताए ।
पशु व्यवसायी सङ्घका महासचिव कृष्णहरि भट्टले मासु भान्सासम्म पुग्ने खाद्य सामग्री भएकाले यसलाई उपभोक्तासम्म स्वस्थ पुर्याउनका लागि सरकारले उत्पादन हुने स्थान, बधशाला र बिक्रीवितरण गर्ने स्थानसम्म नै अनुगमन गर्नुपर्ने बताए।
उनले भने, “हरेक वर्ष चाडपर्व आएपछि मासु र अन्य खाद्य सामग्रीको अनुगमन गर्नु उपयुक्त हुन्छ । मासुको हकमा थप र प्रभावकारीरुपमा अनु्गमन गर्नुपर्छ ।” बङ्गुर व्यवसायी सङ्घका महासचिव डिल्ली पौडेलले पशु बधशाला तथा मासु जाँच ऐन २०५५ लाई कार्यान्वयन गर्न सकेमा मासुजन्य वस्तुमा हुने अनियमितता न्यूनीकरण हुने धारणा राखे।
काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार २०० र काठमाडौँ महानगरपालिकाबाट दैनिक ५०० मेट्रिक टन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । केही समयअघि नै काठमाडौँ महानगरपालिकाले मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन गर्ने र खानयोग्य मात्रै आयात गर्ने भने पनि हालसम्म उक्त विषय अभ्यासमा आउन सकेको छैन ।