arrow

वडाध्यक्षले खादामा राजनीति गरेको भन्दै आदिवासी जनजातिले मागे राजीनामा

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
Netra-.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्षले धार्मिक पवित्र वस्तु खादामाथि प्रतिवन्ध लगाउने उर्दी जारी गरेकोमा आदिवासी जनजाति संघसंस्थाहरुले उनको राजीनामा माग गरेका छन् ।

नेपाल तामाङ घेदुङ ३ नं. प्रदेश समिति, आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ, जिरेल संघ नेपाल, तमु ह्युल छौंज धिं गुरुङ राष्ट्रिय परिषद्, ह्योल्मो सेवा समाज, नेपाल थामी समाज, नेपाल माझी उत्थान संघ, दनुवार जागरण समिति, नेपाल मगर संघ र योल्मो काग्र्यु साङ्ङाग लाछोग लगायत १२ आदिवासी जनजाति संघसंस्थहरुले मंगलबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

वडा अध्यक्ष नेत्रबहादुर कार्कीले असोज ९ गते धार्मिक पवित्र वस्तु खादालाई आफ्नो वडा क्षेत्रभित्र कातिक १ गतेदेखि लागू हुने गरी कुनैपनि सार्वजनिक कार्यक्रममा प्रयोग नगर्न निषेध जारी गरेको थियो ।

विज्ञप्तिमा धार्मिक वस्तुमाथि प्रतिवन्ध लगाउने यसखालको निर्णय एकातर्फ आदिवासी सभ्यताले विकास गरेको संस्कृति माथिको गम्भीर आक्रमण हो भने अर्कोतर्फ कानूनी रुपमा नेपालको संविधान–२०७२ र मुलुकी संहिता ऐन परिच्छेद–९ धर्म सम्बन्धि कसुरको दफा–१५५ समेतको प्रावधान विपरित रहेको उल्लेख छ ।

खादा निषेधको उर्दी फिर्ता नलिए पदीय ओहदाको दुरुपयोग हुनेगरी धार्मिक रुपमा अरुको संस्कृतिमाथि आक्रमण गर्ने ब्यक्ति जनप्रतिनिधिको रुपमा पदमा रहिरहन नमिल्ने हुँदा तत्काल पदबाट राजीनामा दिन माग गरिएको हो । अन्यथा, यसबाट उत्पन्न परिणामको परिणामको स्वयंम् जिम्मेवार हुने विज्ञप्तिमा भनिएको छ ।

वडा अध्यक्ष कार्कीको उर्दीको चौतर्फी आलोचना भएपछि कार्कीले असोज १२ गते काइते भाषाको प्रयोग गरी क्षमा मागेपनि निर्णय फिर्ता नलिएकोमा आदिवासी जनजाति संघसंस्थाहरुले आपत्ती जनाएका हुन् । विज्ञप्तिमार्फत उनलाई आम समुदायमा दिग्भ्रमित बनाउने कोशिस नगरी प्रष्ट भाषामा खादा निषेधको उर्दी पूर्ण रुपमा फिर्ता लिन आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ