बाबु छोरा चढेको मोटरसाइकललाई ट्रकले दियो ठक्कर, एकको मृत्यु
प्रकाशित २०७५ असोज १६ मंगलबार
941
Shares
उर्लाबारी । मोरङको विराटनगर–रङ्गेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा मंगलबार ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
विराटनगरबाट रङ्गेलीतर्फ जाँदै गरेको को १ख २९४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को २५प २८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कटहरी–४ का ५० वर्षीय जगदीश गुप्ताको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुप्तालाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पुर्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।
दुर्घटनामा मृतकका छोरा २२ वर्षीय प्रमोद भने घाइते भएकाले उनको गोल्डेन अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने चालकसहित ट्रक प्रहरी नियन्त्रणमा छ ।