निर्मलाका हत्यारा पक्राउको माग गर्दै प्रदर्शन, सरकारी कर्मचारी कुटिए
प्रकाशित २०७५ असोज १६ मंगलबार
628
Shares
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले यहाँस्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार तोडफोड गर्नाका साथै कर्मचारीमाथि हातपात गरेका छन् ।
नेविसंघले भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै मंगलबार एकदिने कञ्चनपुर बन्दको आह्वान गरेको थियो । बन्द अवज्ञा गरेको भन्दै नेविसंघ कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत नायब सुब्बा कृष्णदत्त भट्ट, अपरेटर मञ्जु भट्ट र कार्यालय सहायक धनवीर भाटमाथि हातपात गरेका हुन् । साथै कार्यालय परिसरमा रहेको बा २ झ २७१५ नम्बरको कारसमेत तोडफोड गरिएको छ ।
भीमदत्तनगरमा प्रदर्शन गर्दै आइरहेका नेविसंघ कार्यकर्ताले बन्दमा कार्यालय किन खोलेको भन्दै कुटपिट र तोडफोडमा उत्रिएको सरकारी वकिल कार्यालयका कार्यालय सहायक भाटले बताए। कार्यालयभित्रै प्रवेश गरेका आन्दोलनकारीले कार्यालयमा समेत तोडफोड गरेका छन् ।
सरकारी वकिल कार्यालयमै समाचार सङ्कलन गरिरहेका ‘सगरमाथा टेलिभिजन’का जिल्ला संवाददाता चन्द्रकान्त जोशीमाथि पनि तिनले हातपात गर्दै क्यामेरा फुटाएका छन् । पत्रकार जोशीले कार तोडफोड गरिरहेको दृष्य छायाङ्कनका क्रममा नेविसंघ कार्यकर्ताले आफूमाथि हातपात गर्दै क्यामेरा फुटाएको बताए।
पन्त हत्या घटना भएको लामो समय बितिसक्दा पनि हत्यारा कानूनी दायरामा ल्याउन नसकेको भन्दै बन्द गरिएको नेविसंघ कञ्चनपुरले जनाएको छ ।