काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।
दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कांग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रीत गर्ने सुझाव आएको जानकारी दिँदै उनले यो गलत हो भने । “पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ” ।
जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिए।
सांसद भीमसेनदास प्रधानले कांग्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनता समक्ष पुर्याएर अहिलेको अन्यौलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताए ।