भक्तपुर । भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा आज साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ३६५० नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिएर टिपरका चालक फरार भएको हो । ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोसित भीडले टिपरमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् । डेढ घण्टासम्म पनि आगो नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि आएका प्रहरीले भीड हटाउन खोज्दा आक्रोसित भीडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताउनुभयो । प्रहरीको लाठीचार्जबाट आक्रोसित भीडले ढुङ्गाहानेपछि सूर्यविनायक क्षेत्र राति ८ः३० बजेसम्म तनावग्रस्त बनेको छ ।
आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भीडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको हो । राति ८ः३० बजेसम्म अश्रुग्यास हानेर भीड तितरवितर बनाएपछि दमकलले आगो निभएको छ ।
घटनामा प्रहरीको व्यापक लापर्वाही
घटनालाई शान्तिपूर्णरुपमा नियन्त्रणमा लिन सकिने भए पनि प्रहरीको लापर्वाहीका कारण सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले राति घर जान लागेका, पसल सञ्चालन गरेको व्यापारीदेखि सुत्केरी महिला समेतलाई अन्धाधुन्दा लाठीचार्ज गरेको स्थानीयले बताएका छन् ।
स्थानीय प्रत्क्षयदर्शी सावित्री पोखरेलले प्रहरीले बच्चा बोकेको सुत्केरी महिलालाई समेत लाठी प्रहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ढुङ्गा हान्ने भागे, सोझा र निर्दोषमाथि प्रहरीले लाठी र अश्रुग्यास बर्सायो, टाढाटाढा घर जानेको कन्तबिजोग बनायो, धेरै घाइते भए ।”
प्रहरीले घरको छतछतमा समेत अश्रुग्यास हानेको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको लापर्वाहीका कारण स्थानीयदेखि घर जान हिँडेका नागरिकसमेत निकै दुःख पाएको बताउँछन् ।
आक्रोसित भीडले गरेको ढुङ्गा प्रहारका कारण दमकल तोडफोड हुनुका साथै दमकलका कर्मचारीसमेत घाइते भएको र केही प्रहरी घाइते भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीको लाठीचार्ज र अश्रुग्यासबाट कति घाइते भए भन्ने यकिन तथ्याङ्क नआए पनि जिल्लामा विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए।
दिउँसै चल्यो टिपर
भक्तपुरमा आज दिउँसो १२ बजेदेखि नै टिपर सञ्चालनमा आएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय सञ्जय श्रेष्ठले यसअघि सागाबाट ६ बजे टिपर आउने गरे पनि आज प्रहरी प्रशासनकै मिलेमतोमा टिपर १२ बजेदेखि सञ्चालनमा आएको स्थानीयको आरोप छ । सरकारको निर्णयविपरीत दिउँसो टिपर सञ्चालन गर्न दिएको भन्दै स्थानीयले प्रहरी र प्रशासनप्रति आक्रोस व्यक्त गरेका छन् । रासस