arrow

रुससँग मिसाइल सम्झौता गर्दै भारत, अमेरिकालाई छटपटी

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
modi-putin1.jpg

एजेन्सी। विहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि आएकाछन्। उनको भारत भ्रमणको क्रममा एस–४०० मिसाइलको लागि दुई मुलुकको बीचमा सम्झौता हुनसक्ने बताइएको छ। भारत र रुसको बीचमा बढ्दो सम्बन्धले अमेरिकाको चिन्ता भने बढाएको छ। अमेरिकाले यसअघि भारतलाई यो सम्झौता नगर्नका लागि अनुरोध गरेको थियो तर भारत अमेरिकालाई वेवास्ता गर्दै अघिबढ्ने तयारीमा देखिएको हो। 

रुसको मिसाइलको माध्यमबाट अमेरिकाको फाइटर विमानको क्षमताको परीक्षण हुनसक्ने भन्दै अमेरिका यी दुई मुलुकहरुसँगको सम्झौताबाट डराएको देखिन्छ। अहिले भएको सम्झौताबाट भारतलाई अमेरिकी विमानको केही विवरणहरु हात पर्नेछ।

अमेरिका आफ्ना विपक्षी मुलुकहरुमा यो विवरण चुहिनसक्ने आशंका गरिरहेको छ। सुरक्षाविद्हरुले अहिले भारतले खरिद गर्न लागेको यो मिसाइलले अमेरिकाको एफ–३५एस र एफ–३५ लाइटनिङजस्ता फाइटर विमानहरुको विवरण थाहा पाउनसक्छ। जुन अमेरिकाको सुरक्षाको हिसाबमा एक समस्या हो। 

अर्को महत्वपूर्ण कुरा अमेरिकी सिस्टमको बजार पनि कमजोर बन्नसक्ने बताईएको छ। भारतले रुसबाट एस–४०० खरिद गरेको खण्डमा अमेरिकाको एन्टि मिसाइल डिफेन्स सिस्टमले पनि त्यसलाई चुनौती दिन सक्दैन। अमेरिकाले पछिल्लो डेढ दशकयता भारतलाई रक्षा उपकरणहरु बिक्री गर्दै आएको छ। भारतको लागि रुस, अमेरिका, फ्रान्स र इजरायलबाट लिइएको विवरणहरुले रक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्दै आएको छ।

अमेरिकाको लागि भारतमाथि प्रतिबन्ध लगाउनु पनि एक समस्या हुनसक्छ। दक्षिण एसियामा पछिल्लो समय भारतसँगको उसको सम्बन्धमा केही सुधार आइरहेको थियो। यस्तोमा केही समयअघि अमेरिकाले भारतसँग राम्रो सम्बन्धको लागि प्रयासरत रहेको बताएको थियो। साथै भारतमाथि कुनै किसिमको प्रतिबन्धको तयारी नगरिएको पनि उसले बताएको थियो। 

अमेरिकाले दक्षिण एसियामा कहिले पाकिस्तानसँग नजिक हुँदै त कहिले भारतसँग नजिक हुँदै यो क्षेत्रमा आफ्नो प्रभाव कायम राख्दै आएको छ। केही समयअघि पाकिस्तानलाई दिइँदै आएको सहयोग कटौती गरेपछि भने पाकिस्तानसँगको सम्बन्धमा थप चिसोपना आएको छ। केही दिनअघि मात्र अमेरिकी अधिकारीले पाकिस्तानलाई दिइँदै आएको सहयोग रोकिनु अमेरिकाको गल्ती रहेका स्वीकार गरेका थिए।

यसले अमेरिका पुनः पाकिस्तानलाई मनाउने प्रयासमा पनि रहेको हुनसक्ने देख्न सकिन्छ। भारतले रुससँग सम्बन्ध विस्तार गरिरहँदा पाकिस्तानसँग मिलेर भारतमाथि आफ्नो नजर राख्ने प्रयास अमेरिका हुनसक्छ तर पाकिस्तानमा अत्यधिक मात्रामा बढेको चीनको प्रभाव भने अमेरिकाको लागि एक समस्या बनिसकेको छ। 

अमेरिकाको लागि भारत–रुसबीच हुन गइरहेको सम्झौता रोक्नु प्रतिष्ठाको विषय पनि हो। रुससँग सैन्य हतियारहरु खरिदका लागि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमानेसँगै चीनको सैन्य क्षेत्रमाथि अमेरिकाले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

यस्तोमा भारतले पनि गरेको अटेरलाई अमेरिकाले नदेखेको जस्तो भने नगर्न सक्छ। रुसमाथिको प्रतिबन्ध सफल पार्नका लागि अमेरिकाले पहल गरिरहेको अवस्थामा चीन र भारतले उसको प्रतिबन्धको वेवास्ता गर्नुले उसको प्रतिबन्ध बिस्तारै अर्थहीन बन्ने दिशामा बढिरहेको छ।

अमेरिका इरानमाथि पनि प्रतिबन्ध लगाउने तयारीमा रहेको छ भने यसलाई चीन र भारत दुवै मुलुकहरु नमान्ने पक्षमा उभिएका छन्। यसले पनि अमेरिकालाई भारतमाथि प्रतिबन्ध लगाउन बाध्य पार्नसक्छ। यस्तोमा अमेरिकाको दक्षिण एसियाको प्रभाव निकै कमजोर हुनसक्ने विश्लेषकहरु बताएदै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ