arrow

दशैँ खर्च लिन आउन पत्रकारहरुलाई सञ्चारमन्त्रीको निम्तो

वरिष्ठ पत्रकारहरु भन्छन्– पत्रकारिता पेशाकै मानमर्दन भयो 

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
Gokul-baskota-1.jpg

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालका पत्रकारलाई दशैँ खर्च लिन सार्वजनिक आह्वान गरेका छन्। उनले बिहीबार संसदको विकास समितिमा उक्त समितिको बैठकको समाचार संकलनका लागि उपस्थित भएका पत्रकारहरुलाई यसरी दशैँ खर्च लिन सार्वजनिक रुपमा आह्वान गरेका हुन्।

संसदीय समितिको बैठकको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई पूर्व पत्रकार समेत रहेका सञ्चारमन्त्रीले हप्कीदप्कीसहित यसरी पत्रकारलाई पैसा लिन आह्वान गरेको समाचारले समग्र पत्रकारहरुको अपमान भएको महसुश नेपाली पत्रकारहरुले गरेका छन्।

सो समितिमा उनलाई पनि बोलाइएको थियो र नेपाल टेलिकममा दिगम्बर झाको नियुक्ति किन गर्नु परेको हो भनेर उनीसँग समितिले स्पष्टीकरण लिएको थियो। त्यस क्रममा उनले सांसद तथा समितिका सभापतिलाई समेत हप्कदप्की गरेका थिए । तर त्यस निर्णयबाट रिसाएका सञ्चारमन्त्रीले भने रिस पत्रकारसँग पोखेका थिए। केही समयअघि एक दैनिक पत्रिकाले दिगम्बर झाको नियुक्तिमा सरकारले २० करोड रुपैयाँ खाएको भनी समाचार छापेको थियो। तर सो समाचारको रिस उनले पत्रकारसमक्ष पोखेका छन्। सो समितिमा उपस्थित पत्रकारहरुतर्फ चोर औँला ठड्याउँदै उनले भने– एउटा आफूलाई ठूलो हूँ भन्ने मिडियाले उक्त नियुक्तिमा २० करोड घोटालाको समाचार लेख्यो। हो, लेखे हुन्छ मलाई समाचारले छुँदैन किनभने म पनि पहिला पत्रकार नै हूँ। त्यसैमा पत्रकारलाई उनले भने–हो, तपाईँहरुलाई पनि दशैँ खर्च चाहिन्छ भने लिन आउनुहोला।

मन्त्री बाँस्कोटाको यो समाचारले मुलुकको पत्रकारिताल जगतको अपमान गरेको पत्रकारहरुले बताएका छन्। सञ्चारमन्त्रीजस्तो व्यक्तिले यसरी सार्वजनिक रुपमा मात्र नभएर मिनि संसद नै मानिने संसदीय समितिको बैठकमा पत्रकारलाई दशैँ खर्च लिन म कहाँ आउनु भन्नुले समग्र पत्रकारिता जगतलाई नै होच्याएको महसुश गरेका छन्। 

आफू नै पूर्वपत्रकार रहेका व्यक्तिले पत्रकारहरुप्रति नै यस्तो व्यवहार गर्नु तथा पत्रकारहरुलाई पैसामा बिक्ने एक पेशाका रुपमा पनि चित्रित गर्ने प्रयास गर्नुलाई सबैले सञ्चारमन्त्रीको घमण्डीपनका रुपमा लिएका छन्। सञ्चारमन्त्रीकै यस्तो अभिव्यक्तिले पत्रकारको मान मर्दन गरेको देशका वरिष्ठ पत्रकारहरुको पनि गुनासो छ। 

साथै सो समिति बैठकमा उनले पत्रकारहरुलाई एउटा निरिह पेशामा कामगर्ने व्यक्तिका रुपमा पनि तुलना गरेका थिए। उनले भनेका थिए कि–मैले पत्रकारको न्युनतम पारिश्रमिक बढाउने प्रस्ताव गर्दा मिडियाका मालिकहरुले मलाई नै खेद्न थालेका छन् तर आफूले आफ्नै बारेको समाचार पत्रकारले लेख्दैनन्। उनको भनाई थियो–अरुका दूःख र पीडाको समाचार देख्ने पत्रकारले आफ्नै पीडाका समाचार भने बनाउन सक्दैनन्। उनले मिडियाका मालिकका अघि पत्रकारले आफ्नै पीडा पनि लेख्न नसकेको भनी पत्रकारको पनि व्यापक मात्रामा आलोचना गरेका थिए।

उनले समितिका सभापतिले निर्णय सुनाउन खोज्दा पनि हप्कीदप्की गरेर निर्णय नै उल्ट्याउन लगाएका थिए। संसदीय समितिका सभापति बोल्दा पनि सभामुखको जस्तै मर्यादा राख्नुपर्नेमा त्यसो गर्न नसकेको भन्दै उनको व्यापक आलोचना पनि भएको थियो। उनको यो समाचार शुक्रबारका सबै दैनिक छापाले बाहिरी पृष्ठमै राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ