arrow

क्यामरुनको अर्थतन्त्रमाथि अशान्ति, कट्टरपन्थी आक्रमणबाट आघात

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
camroon.jpg

याउन्डे । सिद्धान्ततः क्यामरुनको अर्थतन्त्रमा के छैन ? यहाँ खनिज तेल, हिरा र सुन छ, कृषिका लागि अनुकूल अवस्था छ । तर आइतबारका लागि तोकिएको राष्ट्रपतीय निर्वाचनमा ८५ वर्षीय पल बीया राष्ट्रपतिको सातौं कार्यकालका लागि चुनावी मैदानमा छन् । यी वयोवृद्ध नेताले लामो समयदेखि नेतृत्व सम्हालेको क्यामरुनको आर्थिक परिदृश्य चित्ताकर्षक छैन ।

यथार्थमा, क्यामरुनको अङ्ग्रेजीभाषी अशान्त क्षेत्रबाट उद्योग व्यवसाय पलायन हुँदैछ र बेरोजगारी दर एकाएक बढेको छ । उत्तरी क्षेत्रमा बोको हरामको नियन्त्रणमा कायम छ भने यहाँ विकास निर्माणको कुनै नयाँ योजना छैन ।

क्यामरुनका दुईवटा अङ्ग्रेजीभाषी क्षेत्रका जनताको आयको मुख्य स्रोत नै कफी र कोको हो । क्यामरुनको अरेबिका कफीको ७५ प्रतिशत हिस्सा यही उत्तर–पश्चिमी भूभागमा उत्पादन हुने गर्दछ ।

गत महिना क्यामरुनको श्रमिक कार्यालय जिकामले सार्वजनिक गरेको विवरणमा दुबै बालीको निकासीमा २० प्रतिशतले कमी आएको उल्लेख छ । असुरक्षा र अशान्तिका कारण धेरै मानिस भागेका कारण निकासीमा भारी कमी आएको जिकामको भनाइ छ ।

सन् २०१७ देखि नै यी दुवै अङ्ग्रेजीभाषी क्षेत्रमा लडाइँका घटना दिनहुँ भइरहेका छन् । मुख्य रुपमा फ्रान्सेलीभाषी क्यामरुनबाट यी अङ्ग्रेजीभाषीले स्वतन्त्रताको माग गर्दै पृथकतावादी सशस्त्र आन्दोलन गरिरहेका छन् ।

अङ्ग्रेजीभाषी क्षेत्रका कैयौं गाउँमा क्यामरुनको झण्डाको सट्टामा स्वघोषित अम्बाजोनिआ गणतन्त्रको झण्डा गाडिएको पाइन्छ । अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका अनुसार एक हजारभन्दा बढी लडाकूहरुले ग्रामीण इलाका र मुख्य सडकहरुमा कब्जा जमाएका छन् ।

यी लडाकूहरुले सरकारी निकायमाथि मुख्य रुपमा आक्रमण गर्ने गर्दछन् । फ्रान्सेलीभाषीका व्यवसाय र क्यामरुन सरकारमाथि सहानुभूति राख्ने विदेशीहरुमाथि विद्रोहीले लक्षित गर्ने गरेका छन् ।

कम्तीमा १० जना यस्ता व्यवसायी र उनीहरुका कर्मचारीलाई लडाकूहरुले अपहरण गरेका छन् । तर अरु कैयौंको हत्या गरिएको छ ।

कामदारमाथि आक्रमणको चेतावनी दिने, व्यवसाय तोडफोड गर्ने, कामदारका घरमा आगो लगाउने र सवारी साधन चोरी गर्नेजस्ता समस्याबाट प्रताडित यहाँका धेरै कम्पनीले आफ्ना व्यवसाय बन्द गरिसकेका छन् । क्यामरुनको दक्षिणपूर्वको बुएमा कार्यालय रहेको एक गैरसरकारी संस्थाले कृषि क्षेत्रमा बेरोजगारी दर ७० प्रतिशतले बढेको जनाएको छ ।

क्यामरुनको सबैभन्दा ठूलो रोजगारदाता क्यामरुन विकास संस्थान (सीडीसी) ले समेत अङ्ग्रेजीभाषी क्षेत्रमा टालटुले कार्य गर्न बाध्य छ । जिकामका अनुसार, सीडीसीका २९ वटा उत्पादन स्थानमध्ये सातवटा मात्र पूर्ण रुपमा सञ्चालनमा छन् ।

“यहाँ सबै बन्द छन्, स्कुल र व्यवसाय पनि बन्द छन् । यो सहर निर्जीव भइसक्यो,” बुएका एक बासिन्दाले गुनासो पोखे। यो ठाउँ कुनै समय क्यामरुनको एउटा महत्वपूर्ण आर्थिक केन्द्र थियो ।

सेना र पृथकतावादीबीच दिनहुँजसो भिडन्त हुने गर्दछ । विश्वविद्यालयको छेउछाउ दिनहुँझैं गोली चल्ने गरेको छ । यो विश्वविद्यालय अङ्ग्रेजीभाषी क्षेत्रको महत्वपूर्ण अध्ययनको केन्द्र हो ।

“यो सङ्कटले दिर्घकालीन असर गर्ने सम्भावना बढेको छ,” एकजना मानवीय सहायताकर्मीले बताए ।

जिकामका अनुसार अल्पकालीन रुपमा सञ्चार सञ्जालमा गम्भीर क्षति पुग्नेछ । यदि विद्रोहीले विद्युतका खम्बामा क्षति गरे भने असुरक्षाका कारण यसलाई मर्मत गर्न सकिने छैन

ग्रामीण इलाकाहरुमा बाहिरी विश्वसँगको सम्पर्क त अब ध्वस्त भइसक्यो, बुएका एकजना स्थानीयबासीले दुःख प्रकट गरे । “यो कार्य यहाँको अर्थतन्त्र र जनताको भावी समयका लागि दुःखद हो । मानिसहरुले यो ठाउँ छाड्दैछन्, व्यापार व्यवसाय बन्द भएको छ, तर लडाइँ निरन्तर चालू छ –– हामीले कस्तो किसिमको भावी जीवन चाहेका हौं ?”

संयुक्त राष्ट्रसङ्घका अनुसार यो द्वन्द्वग्रस्त इलाकाबाट दुई लाख ४६ हजार मानिस दक्षिणपश्चिमतर्फ विस्थापित भएका छन् भने २५ हजार नाइजेरियातर्फ पलायन भएका छन् ।

यहीबीच, सुदूर उत्तरी क्षेत्रमा बोको हरामका लडाकूहरुले सन् २०१४ देखि नै आक्रमण जारी राखेका छन् । यहाँ उनीहरुले दुई हजार नागरिक र सेनाको हत्या गर्नुका साथै करिब एक हजारलाई अपहरण गरेका छन् ।

पश्चिमी मुलुकमाथि गालीगलौज गर्ने तथा इस्लामिक शरिया कानुन लागू गराउन चाहने बोको हरामले सन् २००९ देखि नाइजेरियामा आक्रमण गर्न थालेयता कम्तीमा २० हजारको मृत्यु भइसकेको छ । इन्टरनेसनल क्राइसिस ग्रुपका अनुसार बोको हरामले गाउँगाउँबाट मानिसलाई लखेट्ने तथा सरकारी सेना र प्रशासनको गुप्तचरीका लागि १४ हजारलाई परिचालन गरेको छ ।

आर्थिक क्षेत्रमा यहाँ पारेको असर अझ विभत्स छ ।

बोको हरामले आक्रमण गर्नुअघि यो क्षेत्र क्यामरुनकै सर्वाधिक गरिबीको चपेटामा थियो । विगतमा अङ्ग्रेजीभाषी क्षेत्रको अवस्था राम्रै भएपनि सुदूर उत्तरी क्षेत्रमा विकास भएको थिएन । यो क्षेत्रमा व्याप्त गरिबीका कारण बोको हरामले फाइदा लिएको हो ।

“मेरो कार्यस्थल जाकानामा थियो, तर बोको हरामका कारण मैले त्यहाँबाट भाग्नु परेको थियो,” अलि नाम गरेका एक स्थानीयबासीले बताए ।

चुनाव प्रचारका क्रममा शनिबार सुदूर उत्तरी प्रान्तको राजधानी माराउ पुगेका राष्ट्रपति बीयाले यस क्षेत्रको पुनर्निर्माणका लागि क्यामरुन सरकारले सक्दो प्रयास गर्ने बताए ।

उनले खनिज तेलको उत्खननका लागि सर्वेक्षण गर्ने, छिमेकी मुलुक चाडसँग रेलसेवाले जोड्ने तथा पर्यटन क्षेत्रको विकास गर्ने लगायतका योजना प्रारम्भ गर्ने वचनबद्धता व्यक्त गरे। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ