arrow

विकासमा पछि परेको ऐतिहासिक पाल्पा

logo
ब्रह्मशेखर बज्राचार्य,
प्रकाशित २०७५ असोज १९ शुक्रबार
palpa-jatra.jpg

पाल्पा । काठमाडौंको भाई भनेर चिनिने ऐतिहासिक पाल्पा आफैमा सम्भावनायुक्त जिल्ला हो । हावा पानीका हिसावले पनि अत्यन्तै रमणीय र सुन्दर जिल्ला हो पाल्पा । यहाँ थुप्रै सम्भावना बोकेका क्षेत्रहरु भए पनि त्यसको पहिचान र संरक्षण हुन नसक्दा जुन तवरमा विकास हुनु पर्ने हो त्यसो हुन सकेको छैन ।

राणाकालिन समयमा जिल्लाको विकासले गति लिए पनि  प्रजातन्त्र आएपछि यस क्षेत्रको विकासले गति लिन सकेको छैन । पर्यटकीय, धार्मिक, शैक्षिक र सांस्कृतिक रुपमा पहिचान बनाएको पाल्पाले विस्तारै त्यो पहिचान गुमाउदै गएको छ । जिल्लामा  प्रसस्त मात्रामा पर्यटकीय, धार्मिक र सांस्कृति क्षेत्रहरु रहे पनि त्यसको संरक्षण र पहिचना गर्न नसक्दा पाल्पा विकासमा पछि परेको जिल्लाका जेष्ठ नागरिकहरुले गुनासो गर्न थालेका छन् । यो स्वाभाविक नै हो ।

आधुनिकतासँगै पछिल्लो पुस्ताले जिल्लाको गहनाका रुपमा रहेका यि क्षेत्रहरुको संरक्षण तर्फ ध्यान नदिदा विस्तारै  पाल्पा विकासमा पछि पर्न गएको हो । पाल्पा जिल्ला सँगै विकासमा अगाडि बढेका छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, रुपन्देही  लगायतका जिल्लाहरुले अहिले विकासमा फड्को मारिसकेका छन् । पाल्पा भने सम्भावना बोकेर पनि त्यसको परिचालन गर्न नसक्दा आर्थिक रुपमा सवल हुन सकेको छैन । यो अत्यन्तै चिन्ताको विषय हो । कस्तुरीले आफु सँग भएको सुगन्ध खोज्न अन्यत्र भौतारिए झै हामीहरु पनि  जिल्लामा भएका स्रोत र साधनहरुलाई उपयोग गर्न नसक्दा विकासका लागि भौतारिरहेका छौं ।  

राणकालिन समयमा नौं जिल्ला  बागलुङ, प्युठान, गुल्मी, डोटि, हुम्ला, जुम्ला,बैतडी डढेलधुरा, सल्यान जिल्लाको गौडाको रुपमा रहेको जिल्ला पाल्पा अत्यन्तै प्रख्यात रुपमा रहेको थियो । त्यस समयमा  सेनाको चार पल्टन सहितको सुरक्षाको घेरामा जिल्ला रहेको थियो । यस क्षेत्रमा एसियाकै ठूलो त्रिशुल, काठको ढोका, पाल्पा दरवार, ताजमहल जस्ता महत्वपूर्ण ऐतिहासिक र पुरातात्विक वस्तु बाकेको जिल्ला संरक्षण र प्रचार प्रसार गर्न नसक्दा पछि परेको छ । यि यस्ता पुरातात्विक वस्तुहरुको संरक्षण र संवद्र्धन गर्न  सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन  सकिन्थ्यो । जसले गर्दा जिल्लाको आर्थिक क्षेत्र मजबुद हुनुको साथै विकासले फड्को मार्ने कुरामा  कुनै दुई मत छैन ।


शिक्षा, स्वास्थ्य र पर्यटनको नारा बोकेर अगाडि बढेको जिल्लालाई  नयाँ पुस्ताले पुराना र ऐतिहासिक वस्तुहरुको हेक्का नराखे सम्म नारा नारामै सिमित रहने देखिन्छ ।  काठमाडौकों कृत्रिपुर विश्वविद्यालय स्थापना हुनु भन्दा पहिले नै पाल्पामा त्रिभुवन बहुमुखि क्याम्पस स्थापना भएको थियो । यसले पनि प्रष्ट पार्दछ कि राणाकालिन समयमा जिल्लाको विकासको गति कुन दिशामा रहेको थियो भनेर । प्रजातन्त्र प्राप्ती पछि जिल्लाले ठूला ठूला व्यक्तित्वहरु  पाउन  सफल भयो यो पाल्पालीहरुका लागि  निकै गौरवको समय थियो । त्यत्ति मात्र होइन जिल्लाले  लामो समय देखि सरकारको उच्च पदमा यही क्षेत्रको  व्यक्ति सांसद, मन्त्री समेत पायो ।

तर  जुन रुपमा विकास निर्माणको काम  हुनुपर्ने हो त्यो भने हुन सकेन । त्यो पाल्पालीहरुका लागि दुर्भाग्य भन्नु पर्छ ।  विकास निर्माणका काममा  समेत राजनितिक हुँदा जिल्लाको विकासले गति लिन सकेन ।  पछिल्लो समयमा शहरीकरणले गति लिए पनि यो विकासको सबै थोक भने होइन । शहरीकरण हुनु राम्रो भए ता पनि त्यसको आधारभूत सेवा सुविधा समेत हुन नसक्दा समस्या उत्पन्न भएको छ । जिल्लामा शहरीकरण भए सँगै पानीको समस्या पनि उत्तिकै टड्कारो देखिएको छ ।

यसको दिर्घकालिन समस्या समधान तर्फ पहल हुनु जरुरी छ ।  हावा पानीको दृष्टिकोणले अत्यन्तै महनोमहक जिल्ला भएकाले पनि यस क्षेत्रमा बस्न रुचाउनेहरुको जमात बढ्दै गएको छ । यस तर्फ जिल्लाका राजनैतिक दल समाजिक संघ संस्थाहरुले पहल गर्नु पर्दछ । विकासमा राजनैतिक होइन , सामुहिकता आवश्यक हुन्छ । यहि कुरालाई जिल्लाका राजनैतिक दलहरुले मनन गरी विकासलाई अगाडि बढाउन सके मात्रा जिल्लावासिको कल्याण हुने छ ।  

 लामो समय सम्म पनि जिल्लाको विकासले गति लिन नसकिरहेका  बेला निरास बनेका पाल्पाली जनताहरु स्थानीय सरकार आए पछि भने विकासले गति लिने आशा गरेका छन् । लामो समय सम्म पानीको समस्या खेप्दै आएका तानसेनवासिहरुले अबको एक वर्ष भित्र प्रसस्त मात्रमा पानी पाउने आशा पलाएको छ । स्थानीय सरकार र केन्द्रीय सरकारको पहलमा कालीगण्डकी नदिबाट पानी ल्याउने काम सञ्चालन भइरहेपछि यस क्षेत्रका जनतामा केही आशा जागेको  हो । जिल्ला पर्यटनको हिसावले पनि महत्वपूर्ण मानिन्छ ।

 तसर्थ केही दिन अघि तानसेन नगर सरकारको पहलमा पाल्पादेखि पोखरा सम्मको लागि पर्यटन बस सञ्चालनमा ल्याउने कुरा  सकारात्मक मान्नु पर्छ । जसले गर्दा पोखराबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्लामा भित्रयाउन सकिने संभावना रहन्छ । अर्को तर्फ राणकालिन समयमा एसियाकै ठूलो काठको ढोकाको रुपमा लिएको पाल्पा मूल ढोका बन्द अवस्थामा रहे पछि  यस क्षेत्रमा आउने पर्यकहरुलाई मुल ढोकाको पहिचान गर्न असज भएको थियो । तर  दुई सयौ विजयी उत्सवका अवसरमा  प्रमुख जिल्ला अधिकारी मनोहरलाल खनालको पहलमा यो मूल ढोका सधै खुल्ला राख्ने भएपछि पर्यटकहरु भित्र्याउन केही टेवा मिल्ने देखिन्छ ।  यसरी  अब जिल्लावासिमा विकासको मुहार फेरिने आशा पलाएको छ । (लेखक तानसेन भजन संरक्षण समितिका अध्यक्ष हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ