सीमा सुरक्षाका लागि ब्रम्हदेबमा सशस्त्र प्रहरीको ‘बिओपी’
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ असोज २० शनिबार
306
Shares
कञ्चनपर । कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका–९ ब्रम्हदेबमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट ‘बिओपी’ स्थापना गरेको छ । सिद्धनाथ सामुदायिक वनको भवनमा अहिले सशस्त्र प्रहरीको अस्थायी ‘बिओपी’ स्थापना भएको हो । प्रदेश नम्बर ७ का सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्र बहादुर थापाले शुक्रबार एक कार्यक्रमका विच उक्त बिओपीको उद्घाटन गरे ।
सीमा र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले ब्रम्हदेबमा अहिले अवस्थायी प्रकृतिको पोष्ट स्थापना गरेको उनले बताए । सिद्धनाथ सामुदायिक वनले ब्रम्हदेबमा सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि तीन विगाह जमिन उपलब्ध गराउने निर्णय गरेको छ । सिद्धनाथ सामुदायिक वनका अध्यक्ष मोतीसिह महताले सीमा र जनताको सुरक्षाका लागि सामुदायिक वनले साधारण सभाबाट सशस्त्र प्रहरीको बिओपी स्थापनाका लागि जमिन दिने निर्णय गरेको बताए ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले मातृभूमि रक्षाका लागि सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकार मिलेर अघि बढ्ने बताए । उनले ब्रम्हदेबदेखि पर्शुरामसम्म जलमार्ग बनाउदै सो जलमार्ग भएर सुरक्षा गस्तीको अवधारणा अघि सारे ।
सशस्त्र प्रहरी बल ३५ नम्बर हेडक्वाटर मझगाँउ कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जिल्लाको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले ब्रम्हदेबमा बिओपी स्थापना गरेको बताए । उनका अनुसार प्रहरी निरीक्षक शैलेन्द्र सिह चौसिरको नेतृत्वमा ३५जना सशस्त्र प्रहरीको टोली रहने छ ।
बिओपीले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोकथामका साथै सीमा सुरक्षा गर्ने छ । कञ्चनपुरको कुल १२९.५किलोमिटर दुरीमा दोधारा, बेलौरीमा स्थायी दुई बिओपी छन् । भने पुर्नवासमा एक अस्थायी पोष्ट छ । सशस्त्र प्रहरी बलले यस अघि कञ्चनपुरको पुर्नवास, बेलडाँडी र ब्रम्हदेबमा सशस्त्र प्रहरीका सीमा सुरक्षा पोष्ट राख्ने तयारी गरेको थियो ।
कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले ब्रम्हदेबमा सीमा सुरक्षा पोष्ट स्थापना संगै सीमा जोगिने बताए । सीमा क्षेत्रमा रक्षक भएपछि स्वत नेपालको भूमि रक्षा हुने उनको भनाई छ । जनताको साथ सर्मथन आवश्यक रहेको बताउदै उनले सुरक्षाको अनुभूति भएको बताए । सशस्त्र प्रहरी स्थापनाको झण्डै दुई दशकतिर पश्चिम नेपाल कञ्चनपुरको ऐतिहासिक भूमि ब्रम्हदेबमा सशस्त्र प्रहरी बलको उपस्थित संगै स्थानीय हर्षित भएका छन् ।