पार्टीको एजेण्डा झोलामा हालेर दशैंमा घर जानुहोस् : कमल थापा
'राप्रपाले घटस्थापनामा सार्वजनिक विदा दिलाएरै छाड्छ'
प्रकाशित २०७५ असोज २० शनिबार
354
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको एजेण्डा झोलामा हाले दशैंमा घर जान सुझाएका छन् ।
सम्पर्क समाज समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विजया दशमीको अवसरमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुको बारेमा चर्चा गर्न उपस्थित नेता तथा कार्यकताहरुलाई उनले आग्रह गरेका हुन् ।
अध्यक्ष थापाले बडादशैं, शुभ दीपावली, छठ लगायतका नेपाली पन र पहिचान झल्काउने पर्वहरुको साथै नेपाली संस्कृतिको संरक्षण र सम्बर्धनमा राप्रपा निरन्तर रुपले क्रियाशिल रहेको स्पष्ट पारेका छन् । थापाले विजया दशमीकै अवसरमा पार्टी एकता हुनेगरि प्रयास भइरहेको बताएका छन् ।
नेपाली संस्कृतिमा सदियौंदेखि स्थापीत मानीएको घटस्थापना जस्तो पवित्र दिनलाई पनि सरकारले सार्वजनिक विदा कटौति गरेकोमा आपत्ती जनाउँदै अध्यक्ष थापाले राप्रपाकै पहलमा कुनै दिन घटस्थापना जस्तो ऐतिहासिक महत्वको दिनलाई सार्वजनिक विदा दिलाएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्राको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता वालाराम घर्तिमगर, प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापा, उपाध्यक्ष निना भेट्वाल, ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।