इन्डोनेसियामा ज्यान गुमाउनेको सङ्ख्या पन्द्र सय नाग्यो
प्रकाशित २०७५ असोज २० शनिबार
665
Shares
पालु, इन्डोनेसिया। इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५ सय ७१ पुगेको छ। इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए।
भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुँदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ।
इन्डोनेसियाको तटीय शहर पालुमा गत शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५ सय ७१ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शनिबार बताएका छन्।
भूकम्पबाट तटीय शहर पालु सबैभन्दा बढी प्रभावित भएको छ। यस भूकम्पका कारण करिब दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्य परेको र त्यसमा हजारौँ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो। एएफपी