arrow

प्रतिबन्धबाट बच्न अमेरिकासँग भारतको हारगुहार 

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
s-400.png

काठमाडौं । रुससँग एस–४०० सुरक्षा मिसाइल प्रणाली खरिद सम्झौतामा हस्ताक्षर गरेको भारत आफूमाथि लाग्नसक्ने प्रतिबन्धबाट बच्न अमेरिका फकाउने योजनामा अघि बढेको छ । भारतले आफूमाथि लाग्नसक्ने प्रतिबन्ध हटाउनका लागि अमेरिकासँग आग्रह गर्ने भएको छ । 

लामो समयको पर्खाइपछि भर्खरै मात्र रुस र भारतको बीचमा मिसाइल सम्झौता भएको हो । यसका साथै थप ७ सम्झौताहरु भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले केही समयअघि हतियारको गोपनीयतामा कसैसँग पनि सम्झौता नगरिने भन्दै भारतलाई चेतावनी दिएका थिए । 

भारतीय एक उच्च अधिकारीका अनुसार भारतले अमेरिकालाई गोप्य विवरणहरु कसैलाई पनि सार्वजनिक नगरिने भन्दै आश्वासन दिएको छ । स्रोतका अनुसार भारतले दुई मुलुकको बीचमा भएको इन्टेलेक्चुअल सम्पत्ति अधिकार सम्झौताको सम्मान गरिने पनि बताएको छ । 

भारतले रुसी मिसाइल खरिद गर्ने निर्णय गरेसँगै भारतीय अधिकारीहरुले अमेरिकाको भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा अमेरिकालाई यो सम्झौतामा राजी गराउने प्रयास भएको थियो । यो क्रममा वरिष्ठ भारतीय अधिकारीहरुले अमेरिकाको भ्रमण गरेका थिए । यसबाट अमेरिका भारतप्रति सकारात्मक हुने अनुमान गरिएको थियो । 

भारतले अमेरिकालाई मनाउनका लागि हरसम्भव प्रयास गरिरहेको छ तर अहिलेसम्म पनि भारतमाथि प्रतिबन्ध लाग्ने वा नलाग्ने भन्ने विषयमा अमेरिकाले कुनै निर्णय गरेको छैन । यसको अन्तिम फैसला ट्रम्पको हातमा रहेको छ । अमेरिकाले रुसी हतियार खरिद गर्ने र इरानसँग तेल खरिद गर्ने मुलुकमाथि प्रतिबन्ध लगाइने बताउँदै आएको छ । 

 भारतले अमेरिकासँग पनि केही हतियारहरु खरिद गरिसकेको र अहिले रुससँग खरिद गर्न लागिएको मिसाइल प्रणालीले उक्त हतियारहरुको विवरण राख्नसक्ने भएकोले अमेरिकालाई आफ्ना विवरणहरुको गोपनीयताको विषयमा चिन्तित देखिएको हो । 

यद्यपि केही समयअघि भारत भ्रमणका आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतलाई रुससँगको सम्झौतामा छुट दिइनसक्ने बताएका थिए । केही समयअघि अमेरिकाले एस–४०० मिसाइल तथा सुखोई–३५ खरिद गरेको भन्दै चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ