बल्ल लाइनमा अाए अाइजीपी खनाल, 'गल्ती गर्ने प्रहरीलाई छाेडिन्न'
प्रकाशित २०७५ असोज २१ आइतबार
244
Shares
काठमाडौं।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठनकाे इज्जत नै गएकाे भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिने बताएका छन्। प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताका समापन कार्यक्रममा उनले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए। “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उनले भने ।
महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्छ, भने । “लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,”उनले भनेका छन् ।
महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पार्नुभयो । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उनकाे भनाई छ ।
राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताए । प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उनकाे धारणा छ । असोज १७ देखि सञ्चालन भएको खेल अाइतबार सकिएको हो । कूल १० टोली रहेको उक्त खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो । प्रतियोगिताको प्रथम टिमलाई ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई ३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई दश हजार नगद प्रदान गरिएको थियो ।