काठमाडौं । गत सेप्टेम्बर २५ तारिखदेखि हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ परेका छन् । मेंग इन्टरपोलको मुख्यालय फ्रान्सको लियोंबाट हराएका थिए ।
चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको बीबीसीले जनाएको छ ।
कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेबसाइटमा उनीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
यसैबीच, इन्टरपोलले मेङले तत्कालबाट लागू हुने गरी प्रमुखबाट राजीनामा दिएको जनाएको छ । सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए ।