arrow

गाडी भाडा नभएकालाई नि:शुल्क टिकट दिदै यातायात समिति

चाडपर्वका बेला हुने दुर्घटना कम गर्न नागरिक सहायता कक्ष

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज २२ सोमबार
palpa-samiti.jpg

पाल्पा । चाडपर्व नजिकिदै गर्दा यात्रुहरुको सुरक्षित यात्राका लागि जिल्लाका विभिन्न स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । तानसेन बसपार्क, रामपुर बसपार्क, आर्यभञ्ज्याङ्ग, हार्थोक, छहरा, ताहुँ, सराई लगायतका क्षेत्रहरुमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र नागरीकहरुको सक्रियतामा यात्रु सहायता कक्ष सञ्चालन गरिएको  हो ।

 चाडपर्वको समयमा अत्याधिक मात्रा सवारी साधन गुड्ने भएकोले दुर्घटना नहोस् भनी चालक, सहचालक र यात्रुहरुलाई सहयोग गर्नुको साथै चेतना फैलाउने उद्देश्यले जिल्लाका विभिन्न  क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको आईतबार एक कार्यक्रममा जानकारी गराएको छ ।

दशैको अवसरमा मान्यजनको हातबाट टिका र आर्शिवाद थाप्न स्वदेश तथा विदेशबाट आफ्नो जन्मघर फर्किने यात्रुहरुलाई सुरक्षित रुपमा घरमा पुग्ने वातावरण सिर्जना गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ । विहान ५ बजे देखी राती १० बजेसम्म निरन्तर रुपमा यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताए ।

यात्रुहरु पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर, अफ्ठ्यारोमा परेका यात्रुहरुलाई सहयोग गरी गन्तव्य सम्म पुर्‍याउने यात्रु सहायता कक्षबाट काम हुँदै आएको  प्रहरी उपरिक्षक पोखरेलले बताए । चाडपर्वको बेला यात्रुहरुको सुरक्षित यात्राका लागि नेपाल यातायात व्यवसायी महासंघ प्रदेश पाँच पनि प्रहरी सँग मिलेर काम गर्दै आएको छ ।

यात्रु कुनै कारणले बेखर्चि भएको छ, उसँग गन्तव्य सम्म पुग्ने पैसा छैन भने जिल्ला स्थित यातायात समितिको कार्यालयबाट नि:शुल्क टिकटको व्यवस्था  गरिएको संयोजक डिलबहादुर ढङ्गानाले बताए ।
 
चाडपर्वको समयमा सवारी साधन र यात्रुहरुको अत्याधिक भिड हुने भएकाले दुवै पक्षलाई व्यवस्थापन गर्ने, सवारी साधनको अत्याधिक गतिलाई नियन्त्रण गर्ने, ओभर लोड तथा सिट क्षमता भन्दा बढी यात्रुहरु ओसार पसार गर्न नदिने, यात्रुहरुलाई परेको पिरमर्कालाई सम्वोधन गरी सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउने गरी छठ पर्व सम्म नागरिक सहायता कक्षलाई सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख डम्वर गिरीले बताए ।

मानव अधिकार कर्मी दिवाकर पाण्डेले नागरिक सहायता कक्ष देखिने गरी प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पाल्पा टेक्टर संघका अध्यक्ष रामप्रसाद श्रेष्ठले चालक देखी यात्रु, सडक निर्माणकर्ता, नागरिक सर्वसाधरण सबै पक्ष जिम्मेवार भएमात्र दुर्घटना न्युनिकरण गर्न सकिने बताए ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले चालक सहचालकलाई  जिम्मेवार, पेशाप्रति सम्मान र उनीहरुलाई सचेत गराउन लामो समय देखी चालकको काम गर्दै आएका उत्कृष्ट चालक र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । ३० बर्षदेखी विना तलव, स्वतःस्फुर्त रुपमा तानसेनको बसपार्कमा ट्राफिकको काम गर्दै आएका नागरिक टोपप्रसाद श्रेष्ठ र ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याएका टिका पौडेललाई नगद र प्रमाण पत्रबाट सम्मान गरिएको हो ।

 त्यस्तै  उत्कृष्ठ चालकको रुपमा मिन बहादुर गुरुङ, चन्द्र बहादुर घर्ति, किरण राउत क्षेत्री, जुद्धबहादुर कार्की, बलनारायण श्रेष्ठ, शिव बहादुर घर्ति र ऋषिराम भट्टराईलाई सम्मान गरिएको छ । हालसम्म कुनै दुर्घटना नगराएको, सडक अनुशासन र ट्राफिक नियम पालना गरेको भन्दै उत्कृष्ठ चालकको रुपमा सम्मान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नेपाल भुतपुर्व प्रहरी संघठनका ईश्वरी खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्रीनगर यातायात व्यवसायी समितिका कार्यालय प्रमुख भविन्द्र गौतमले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ